काठमाडौँ । पछिल्लो समय प्रसुतिका लागि सिजेरियन सेक्सन अर्थात शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या बढ्दो छ । शल्यक्रिया भन्दानर्मल अर्थात प्राकृतिक प्रसुति प्रकृया राम्रो मानिन्छ । तर, पछिल्लो समय प्राकृतिक पद्धती भन्दा शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या बढि देखिन्छ । नेपालकै ठूलो सरकारी प्रसुतिगृह परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा समेत पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या बढेको छ । सरकारी अस्पतालको तुलनामा नीजी अस्पतालमा अझै शल्यक्रियाको अवस्था बढ्दो छ ।
प्राकृतिक रुपमा प्रसव व्यथा लागेर योनीमार्ग हुँदै बच्चा जन्मिन्छ भने त्यसलाई नर्मल डेलिभरी अर्थात प्राकृतिक प्रसुति भन्ने गरिन्छ । यहि प्रक्रिया प्राकृतिक नभएर पेट चिरेर गर्भबाट बच्च जन्माइन्छ वा निकानिल्छ भने त्यसलाई सिजेरियन सेक्सन डेलिभरी भनिन्छ । पछिल्लो समय बच्चा जन्माउन यी दुई प्रकृयामध्ये सिजेरियन सेक्सनको प्रयोग बढी हुन थालेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार, नेपालमा पाँचमध्ये एक महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन् ।
नेपालकै सबै भन्दा ठूलो प्रसुतिगृह परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा समेत पछिल्लो केहि वर्षयता सिजेरियन प्रक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या बढेको छ । अस्पतालमा तीन वर्ष अगाडीसम्म ३१ प्रतिशत सिजेरियन सेक्सनबाट बच्चा जन्माइने गरेकोमा अहिले ४९ प्रतिशत पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शल्यक्रियामार्फत हुने प्रसूति दर १० देखि १५ प्रतिशतभन्दा माथि हुनु हुँदैन । तर नेपालमा उक्त दर १८ प्रतिशतभन्दा बढी देखिन्छ । प्रसुतिका लागि पनि शल्यक्रिया भन्दा प्राकृतिक माध्यम नै महिला तथा शिशुका लागि समेत राम्रो मानिन्छ । तर पछिल्लो समय प्रसव पिडा सहन नसक्ने, आत्तिने मात्र नभएर केही दम्पतीले शिशुको जन्म राम्रो समय पारेर जन्माउने ज्योतिष शास्त्रलाई पालना गर्न समेत सिजेरियन सेक्सन रोजेको देखिन्छ ।
यसरी सिजेरियन सेक्सनबाट बच्चा जन्माए महिलाबाट दोस्रो बच्चा जन्माउन पनि सिजेरियन सेक्सन नै अपनाउनु पर्ने भएका कारण पनि सिजेरियनको सख्ंया बढ्दै गएको तथा अभैm बढ्ने अनुमान चिकित्सकको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देखिएको छ । तर यो प्रतिशत अस्पतालअनुसार फरक–फरक देखिन्छ । निजी अस्पतालमा सिजेरियन गर्ने प्रतिशत अझै बढि छ । नीजी अस्पतालरुमा ८० देखि ९० प्रतिशत सम्म सिजेरियन माध्य माफत डेलिभरी हुने गरेका छन् ।
नर्मल डेलिभरी हुन नसक्ने अवस्थाहरुमा आमा बच्चा वा दुवैलाई जोगाउन सिजरियन सेक्सन अर्थात शल्यक्रिया गरेर डेलिभरी गर्नुपर्ने हो । तर पछिल्लो समय विभिन्न कारण नर्मल भन्दा सिजेरियन डेलिभरी रुचाउने दम्पतीहरुको संख्या एक तर्फ बढ्दै छ । अर्को तर्फ अस्पतालहरु पनि जोखिम मोल्न नचाहने तथा कतिपय नीजी अस्पतालहरु पैसा बढी असुल्न पनि सिजेरियन डेलिभरी गर्न खोज्ने प्रवृद्धि समेत हाबी भएको देखिन्छ । यो समग्र स्वास्थ्यका लागि चिन्ताको विषय हो
त्रिगुणा भट्टराई बस्नेत, काठमाडौं ।।