काठमाडौँ । भागबण्डामा विश्वास नगर्ने र सुशासन कायम गराएरै छाड्ने दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि भागशान्तिमा सक्रिय देखिन्छ । आफूले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचार नहुने र नराम्रो त गर्दै नगर्ने दाबी गरिरहेको रास्वपा पुरानै शैलीको धङधङ्गीसहित वितण्डा मच्चाउन थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पुरानालाई फालेर नयाँलाई रोज्ने र भ्रष्टाचार गर्दै नगर्ने, अनावश्यक मोलमोलाई गर्दै नगर्ने लगायतका दाबीसहित वेथिति चिर्ने दाबी हलुङ्गो साबित हुँदै गएको देखिन्छ । रास्वपाले नेतृत्व गरेको मन्त्रालय र मन्त्रीहरु छटपटीमा देखिन्छन् । तर, उनीहरुले गर्ने दाबी ने कतै कम देखिन्नन् । यद्यपी पार्टी सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेतृत्व गरेको मन्त्रालयमा भने आम रुपमै प्रश्न उठेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमै सहकारी प्रकरणमा छानविन गरिरहेका प्रहरी अधिकारीलाई सरुवा गरेकोदेखि अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लगाइरहेको छ ।
कांग्रेसले प्रतिपक्ष भएर यस्तो आरोप लगाएको भन्ने सार्वजनिक टिप्पणी चलिरहेपनि प्रहरी सरुवा बढुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेको महिनादिन नबित्दै प्रहरीमा अनेक संकट ल्याउन खोजिएको छ । बजेट भाषणमा राष्ट्रपतिले प्रहरी बढुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेका थिए ।
सरकारले बजेटमै गरेको दाबी बजेट पारित नहुँदै तनावमा परेको छ । प्रहरी प्रमुख फेर्न गृहमन्त्री लामिछानेले आन्तरिक कसरत थालेपछि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमै स्पष्टीकरण दिनुप¥यो । प्रचण्डले सुरक्षा निकायका प्रमुख नफेर्ने भनेर बोलिदिए ।
यसरी प्रहरी संगठनभित्र गन्जागोल मच्चाएपनि गृहमन्त्री रवि लामिछाने भने रास्वपाले सम्हालेका मन्त्रालयमा सुशासन कायम हुने र भ्रष्टाचार त हुँदै नहुने दाबी दोहोर्याइरहेका छन् ।
लामिछानेले यस्तो दाबी गरेपनि प्रहरी बढुवामा देखिएको चलखेल भने सफेद रुपमै षडयन्त्रको सिकार बनेको खुलेको छ ।
दुई दिने बढुवा
गृहमन्त्री रवि लामिछानेको दबाबमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल २ दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाइने भएका छन् । असार १९ गते एआईजी उमेशराज जोशी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यो पद रिक्त हुने भएपछि जोशीभन्दा दुई दिनपछि अवकाशमा जान लागेका पोखरेललाई लामिछानेले बढुवा गरिदिने भएका छन् ।
लामिछानेले बढुवामा मरिहत्ते गरेका पोखरेल उनका कानून व्यवसायी सुशील पन्तका आफ्ना भान्जा हुन् । उसोतः पोखरेललाई लामिछानेले बैशाखमै बढुवा गर्न चाहेका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले नमानेपछि यो निर्णय हुन सकेको थिएन् ।
बढुवा किन ?
गृहमन्त्री रवि लामिछानले आफ्ना कानून व्यवसायी पन्तका भान्जालाई बढुवा दिलाएर पेन्सनमा समेत योगदान गर्नेछन् । एकतह माथि पुगेका पोखरेल राजनीतिक नियुक्तिका लागि समेत योग्य बन्ने गरि काम गर्न लागिएकाले यसलाई अर्थपूर्ण ठानिएको छ । विशिष्ट श्रेणीबाट अवकासमा गए संवैधानिक नियुक्ति पाउन सकिने भएकाले पनि पोखरेल दुई दिने एआईजी बन्नेछन् ।
अनुसन्धान अधिकारीको सरुवा
कास्कीको सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका नेपाल प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई समय नपुग्दै लामिछानेले सरुवा गरेको आरोप कांग्रेसको छ । यो विषयमा बोल्दै कांग्रेस सांसद शर्माले प्रहरी नियमावली समेत सम्झाएका छन् ।
भागबण्डामा सक्रिय रास्वपा
सुशासन कायम गराउने र पार्टीमा आफन्त र परिवारवादको अन्त्य गर्ने दाबी गरेको रास्वपाले राजदूत सिफारिसमा समेत भाग पाएको छ । सत्ता समिकरणमा रास्वपाले राजदूतमा भाग पाएपछि राजदूत सिफारिस मापदण्ड नै बनाएर खुशी व्यक्त गरेको छ ।
राजदूत पार्टीको हुने वा मुलुकको नेतृत्व गर्न सक्ने गरि सरकारले नै कडा मापदण्ड बनाएर आह्वान गर्ने भन्ने विषयकाबीच रास्वपाले बनाएको कार्यदल र त्यसले सिफारिस गरेको कार्यविधि पनि पछिल्लो समय रोचक विषय बनेको छ । कतिपयले त रास्वपा पनि नयाँ बोतलको पुरानो रक्सी भन्दै खिसि गर्न थालेका छन् ।