News 24 Television
निलम्बित मुख्यसचिव योजना आयोगमा सरुवा, निमित्तको जिम्मा लीलादेवीलाई

काठमाडौँ । नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव डा अर्याललाई हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सृजना गरी सरुवा गरिएको हो ।  

मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले उक्त निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । डा अर्यालविरुद्ध मुद्दा दायर भएकाले प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन भएका हुन् । उनीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको थियो । 

मन्त्री शर्माले कसैका विरुद्ध मुद्दा दायर हुँदैमा पद वा जागिरबाट हट्न नपर्ने भन्दै मुख्यसचिव डा. अर्याल निलम्बन भएको स्थितिमा उक्त पद रिक्त नभएको अवस्थामा नयाँ मुख्य सचिव नियुक्त गर्न नमिल्ने भएकाले हाल निमित्त मुख्य सचिवबाट काम कारबाही हुने र निकासका लागि विशेष पद सृजना गरिएको बताइन् । उनले आगामी निर्णय विशेष अदालतले गर्ने फैसलाबमोजिम हुने उल्लेख गर्दै डा अर्यालको कार्यकालको अवधिभर विशेष पद सृजना गरिएको र उहाँको कार्यकाल सकिएपछि उक्त विशेष पद स्वतः खारेज हुने बताइन् ।

यससँगै सरकारले निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला (निरौला)लाइृ दिएको छ । तत्कालै नयाँ मुख्य सचिव नियुक्त गर्ने अवस्था नरहेकोले प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्ये वरिष्ठताका आधारमा गड्तौलालाई निमित्तको जिम्मा दिइएको हो । 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update