News 24 Television
सत्ता कब्जाको प्रचण्ड प्रयास, बालुवाटार छोड्न गगनको  ललकार !

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्तामा छैन । दोस्रो ठूलो तर सर्वाधिक मत ल्याएको नेकपा एमाले यतिखेर सत्तामा भए पनि मुख्य भूमिकामा छैन । तेस्रो दल नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्व हातमा लिएको छ । महत्त्वपूर्ण मन्त्रालय आफैसँग राखेको माओवादीले बजेटमा जसरी मनोमानी गरेको छ, त्यसरी नै अन्य क्षेत्रमा उसैको बोलवाला देखिएको छ । महत्त्वपूर्ण नियुक्तिहरु, सरुवा–बढुवा लगायतमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै रजगज चल्ने गरेको तथ्य छर्लङ्गै छ ।

प्रमुख प्रतिपक्षी काँग्रेुसले प्रधानमन्त्री प्रचण्डलाई जसरी पनि सत्ताबाट झार्न र सरकार ढाल्न खोजिरहेको छ । तर काँग्रेसका अनेक प्रयास भने असफल देखिएका छन् । एमाले सरकारमै बसेर पनि प्रधानमन्त्री र माओवादी अर्थमन्त्रीका मनोमानीप्रति सन्तुष्ट छैन । तर काँग्रेसको हातमा सत्ता जानबाट जोगाउन उसले प्रचण्ड सरकारलाई संरक्षण नै गरिरहेको दाबी गर्छ । एमालेको रणनीति पनि सके आफैँ सरकारको नेतृत्व लिने, नभए काँग्रेसको हातमा जानुभन्दा तेस्रो दलका नेता प्रचण्डकै निरन्तरता कायम राख्नेमा देखिन्छ । प्रधानमन्त्री प्रचण्डले सरकार निर्माणका लागि निर्णायक शक्ति हुनुको फाइदा मज्जैले उठाइरहेका छन् । कहिले एमालेलाई देखाउन काँग्रेससँग त काँग्रेसलाई देखाउन एमालेसँग सत्ता गठजोड गर्दै सत्तामा कब्जा जमाइरहेका प्रचण्ड आफू पूरै कार्यकाल प्रधानमन्त्री बन्ने बताउँदै आएका छन् । अनेक गरेर भए पनि, उथलपुथल ल्याएर भए पनि आफू नेतृत्वको सरकारलाई पूरै कार्यकाल लैजाने उनले पटकपटक बताउँदै आएका छन् ।

शनिबार प्रधानमन्त्री प्रचण्डले आफूलाई कसैले सरकारबाट हटाउन नसक्ने बताउँदै पूरै कार्यकाल सरकार चलाउने दोहो¥याएका छन् । आफूले सरकारको नेतृत्व हातमा लिएदेखि नै हटाउन अनेक कसरत भए पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उनको दाबी छ । उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको भन्दै सरकार ढल्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने बताए ।

उता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटार छोड्न चुनौती दिएका छन् । प्रधानमन्त्री प्रचण्ड आफैँले मन्त्रीहरुले नै आफूलाई टेर्न छोडेको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति स्मरण गराउँदै थापाले बालुवाटारबाट डेरा सरेर जान प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसक्ने हो भने प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने थापाको भनाइ छ । महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भए पनि संघीय सरकारले तजविजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नै क्याबिनेटका मन्त्रीहरुले नै आफूलाई नटेर्ने गरेको भन्दै सरकारका असफलताको दोष मन्त्रीमाथि खन्याउन खोजेका थिए । एकातिर आफूले पाँचै वर्ष सरकार चलाउने दाबी गर्ने प्रचण्ड अर्कातिर देशमा चुलिँदो आर्थिक संकट, बेरोजगारी, युवा पलायन, महँगी लगायत समस्या र जनजीविकाका सवालमा भने असफल साबित हुँदै आएका छन् । सरकारले गति लिन नसक्नु र आफूले चाहेजसरी काम गर्न नसक्नुमा अघिल्लो पटक काँग्रेसका मन्त्रीहरुले सहयोग नगरेको उनी बताउथे । 

पूर्व अर्थमन्त्री प्रकाशशरण महतले आफूलाई नटेरेको भन्दै उनले काँग्रेससँगको गठबन्धन तोड्नुको एक कारण बताएका थिए । त्यही भएर अर्थ मन्त्रालय आफ्नै पार्टीले राख्नेगरी उनले एमालेसँग नयाँ सत्ता समीकरण बनाए । तर अहिले बजेट चाहिँ माओवादी सांसदहरुका निर्वाचन क्षेत्र केन्द्रित बनाएको आरोप लागेको छ । नयाँ सत्ता गठबन्धनको पनि ४ महिना हुन लाग्दा सरकारको गति भने उस्तै छ, यसबीचमा गतिला काम खासै केही हुन सकेको छैन । यसरी आफ्नो असफलता पनि अरुमाथि थोपरेर सरकार पूरै कार्यकाल चलाउने अभिव्यक्ति दिन नछोडेका प्रचण्डको दाउ जसरी भए पनि सत्ता कब्जा गरेर बसिरहनेमै देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update