News 24 Television
कांग्रेस सांसद खड्काको रवाफ, भाडा दिन अझै आनाकानी 

काठमाडौं । दादागिरी शैलीमा शक्तिको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा कब्जा गरेको नेपाली कांग्रेस सांसद दिपक खड्काको कम्पनीलाई काठमाडौं जिल्ला प्रशासनको सहयोगमा त्यहाबाट हटाइएको थियो । 

तर अझै पनि नेपाल स्काउटलाई खड्का आबद्ध कम्पनीले भाडावापतको ७ करोड भन्दा बढी रकम उपलब्ध गराएको छैन । खड्काको कम्पनी र स्काउटबीच भाडा तिर्नका लागि पटक पटक छलफल भए पनि अझै स्काउटले भाडा बापतको रकम प्राप्त गर्न सकेको छैन ।

विगतमा अदालतको फैसला समेत लत्याउँदै दादागिरी शैलीमा नेपाल स्काउटको जग्गा कांग्रेस सांसद दिपक खड्काको कम्पनी खड्का लैण्डले कब्जा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा भवनमा तालाबन्दी नै गरेर स्काउटको जग्गा खाली गर्नु परेको थियो । 

सो बेला पनि सांसद खड्काको कम्पनीले स्काउटलाई भाडा बापतको रकम बुझाएको थिएन । 

त्यसपछि अहिलेसम्म सांसद खड्काको कम्पनीले नेपाल स्काउटलाई ७ करोड भन्दा बढी भाडा वापतको रकम बुझाउनु पर्नेछ । तर अहिलेसम्म जम्मा २५ लाख मात्रै तिरेको नेपाल स्काउटले जनाएको छ । 

विगतमा जग्गा १० वर्ष मात्रै जग्गा लिजमा लिएको सांसद खड्काको कम्पनीले १५ बर्ष भन्दा बढी जग्गाको भोग चलन गरेको थियो । 

अहिले पनि भाडा बापतको रकम बार्ताबाटै टुङ्गो लगाएर तिर्ने भन्दै आएको उक्त कम्पनीले स्काउटको हिसाबमा देखिएको सबै रकम नतिर्ने भन्दै बखेडा झिकिरहेको छ । 

स्काउटको लिज अवधि भन्दा बढी समय जग्गा भोगचलन गरेको खड्का लैण्डले अहिले पनि भाडा बापतको रकम जति सक्दो कम तिर्ने र त्यो पनि लामो समय लगाएर मात्रै तिर्ने योजनामा छ । यद्यपि भाडाबारे स्काउटसँग छलफलकै क्रममा रहेको खड्का ल्याण्डको जवाफ छ । 

नेपाल स्काउटले खड्का लैण्डले कब्जा गरेको जग्गा हटाउन विगतमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नै पत्रचार गरेको थियो । तर पनि लामो समय राज्यका कुनै पनि निकायबाट सहयोग पाएन ।

अहिले पनि स्काउटलाई तिर्नु पर्ने भाडा वापतको करोडौं रुपैयाँ खड्का लैण्डले तिर्न अनाकानी गर्दै आएको छ । 

स्काउटको जग्गा र भवनहरु अन्य व्यपारीहरुलाई भाडामा लगाई मासिक मोटो रकम असुलेको खड्का लैण्डले समयमा भाडा नतिरेपछि कार्यालय सञ्चालनमा समेत समस्या भइरहेको रेडक्रसले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update