News 24 Television
रवि–गगनको मिसन ८४ : दल फरक उदेश्य एउटै

काठमाडौं । वर्तमान राजनीतिमा धेरै आशा गरिएका पात्रमध्ये रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापा अग्रपङ्तिमा पर्छन् । कुनै समय संचारकर्म गर्दा एकै क्षेत्रमा रहेको उनीहरु को सिनियर ? र, को जुनियर ? भनेर चर्चा हुने गरेको छ । 

समयक्रमसँगै उनीहरु हाल पनि रानजीति क्षेत्रमा रहेकाले पनि यो प्रश्न उठ्नु स्वभाविक छ । रवि र गगन अहिले फरक फरक दलबाटै भएपनि राजनीति क्षेत्रमा स्थापितउन्मु छन् ।

राजनीतिमा गगन पुरानै नेताको रुपमा परीचित छन् भने रवि नवोदित राजनीतिज्ञका रुपमा संघर्ष गरिरहेका छन् । तर सफलताकै रुपमा तुलना गर्ने हो भने रविले छोटो समयमै पार्टीलाई राष्ट्रिय दल बनाउनेदेखि दुई–दुई पटक उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् । तर गगन थापा भने एक पटक मात्रै स्वास्थ्य मन्त्री बन्न सफल भए । तर उनी हाल संसदकै सबैभन्दा ठूलो दल काँग्रेसको महामन्त्री छन् । 

पछिल्लो नेपाली राजनीतिमा यीनै दुई पात्रलाई अघि सारेर को ठिक ? भन्ने विषयलेसमेत चर्चा पाउने गर्छ । पुराना दलहरुको शैली र शासन पद्धतिको विरोध गर्दै राजनीतिक दल स्थापना गरेका रवि पहिलो निर्वाचनमै २० सांसदलाई संसद प्रवेश गराउन सफल भए । 

तर सुरुवाती राम्रो समर्थन पाएका रवि ०८४ को निर्वाचनमा रास्वपालाई पहिलो दल बनाउने घोषणासहित अघि बढिरहेका छन् । 

सभापति रवि लामिछानेको यो अभियानलाई साथ दिँदै रास्वपाका अन्य नेताहरुले आगामी निर्वाचनमा रास्वपा निर्विकल्प पार्टी बन्ने दावी गरिरहेका छन् । 

खासगरी विदेशमा रहेका मतदाताहरुलाई आकर्षित गर्न रास्वपाले प्रवासीको मताधिकार विषयलाई मुख्य एजेन्डासमेत बनाइरहेको छ । सकारमा सामले हुन अघि प्रवासमा संगठन बनाउन बेजोडसाथ लागि परेका रविले ३० भन्दा बढी मुलुकमा संगठन विस्तारसमेत गरिसकेका छन् । 

रास्वपाले प्रवासी नेपालीहरु आकर्षित गर्न सदस्यतामा सहजसमेत बनाएको छ । त्यस्तै रास्वपाले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने अभियानसमेत संचालन गरेको थियो । तर पार्टी सरकारमा गएपछि रास्वपाको यो अभियानको त्यति चर्चा भइरहेको पाएको छैन । 

उता नेतृत्वप्रति असहमत रहेका महामन्त्री गगन थापा पनि संगठन सुदृढीकरणदेखि संसदीय दलको नेताका लागि पनि निर्वाचनमा होमिए । 

संस्थापनइतर पक्षका नेताहरुको राम्रै साथ पाएका गगनले दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा पराजित भएपनि गगनले देउवाको एकाधिकारलाई भने चिर्ने प्रयास गरे । 

आम निर्वाचनपछि परिवर्तित समीकरणमा एमालेपछि काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमै कायम भए । यही सरकार रहेका बेला सम्पन्न काँग्रेस महासमिति बैठकमा गगनले निर्वाचन अघि कुनैपनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव अघि बढाए । 

यही विषय माओवादी एमाले समीकरण बन्ने कारणहरु मध्येको एक बन्न पुग्यो । त्यसपछि पार्टीमै आलोचित बनेका गगन आगामी निर्वाचनपछि काँग्रेसको एकलौटी सरकार बनाउने ध्याउनमा छन् । 

पुराना दल र नेताहरुको कार्यशैलीबाट आजित बनेर राजनीतिमा होमिएका रवि सुशासन र वास्तविक परिवर्तनको अभाष दिलाउने अठोट गरिरहेका छन् । तर सहकारी ठगी प्रकरणको मुद्धा र सरकारमा रहेर पनि अपेक्षित कार्य गर्न नसकेको भनेर रास्वपाको आलोचना भइरहेको छ । यद्यपि गृहमन्त्री समेत रहेका सभापति रवि आफ्ना मन्त्रीहरुले कुनै नराम्रो काम नगर्नु नै राम्रो भएको बताइरहेका छन् । 

उता काँग्रेसभित्र पनि गगनले नयाँ र युवा पुस्ताको नेतृत्वका लागि हरसम्भव प्रयास गरिरहेका छन् । तर सहकारी प्रकरणकै विषयमा गृहमन्त्री रवि र गगनबीच लामै दोहारी चलेको थियो ।

 उनीहरुबीच सहकारी ठगी प्रकरणको तथ्य र प्रमाणको विषयमा जो गलत प्रमाणित भएपनि एकले राजनीति छोड्ने सम्मको शर्तबाजी भएको छ । तर जे होस् मुलुकको दुरगति र राजनीतिक विकृतिप्रति रवि र गगन दुवै चिन्तित छन् । संचारकर्ममै रहेका उनीहरु अहिले फरक राजनीतिक बाटोमार्फत मिसन ८४ को अभियानमा छन । 

उनीहरु आ–आफ्नो दललाई शक्तिशाली बनाउने उदेश्यका साथ संघर्ष गरिरहेका हुन् । तर मिसन ८४ कै नारा लिएर एमालेसहितका अन्य दलहरुपनि बहुमत ल्याउने दौडमा छन् । यद्यपि त्यो समय राजनीतिक वातावरण कस्तो कायम होला र जनताले कस्लाई रुचाउँलान त्यो अहिले नै भन्न सकिने अवस्था छैन । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update