News 24 Television
‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

काठमाडौँ : राष्ट्रियसभामा वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको विषयमाथि सांसदहरूले बहस उठाएका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठककाे विशेष समयमा सम्बोधन गर्दै उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिए । सांसद भुवनबहादुर सुनुवार पनि ज्येष्ठ नागरिक भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा तत्काल सुधार गरी सहज बनाउन माग गरे ।

सांसद जीतजङ्ग बस्नेतले वृद्धाभत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रवधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो व्यवस्था खारेज गर्न आग्रह गरे । उनले मुलुकभर वन अतिक्रमणका साथै वन विनाश भइरहेका जनाउँदै सरकारले वन क्षेत्रको संरक्षणका लागि आवश्यक पहल अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।

सांसद वामदेव गौतमले सम्पूर्ण जमिनलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए । “भूमि नै मुख्य उत्पादनको साधन हो, तर टुक्राटुक्रा गरेर उत्पादनशील भूमि मासिन्छ कसरी मुलुक समृद्धि हुन्छ ?”, उनले भने, “विश्वका जुनजुन स्थानमा राष्ट्रियकरण गरिएको छ, ती मुलुक धनी छन् ।”

सांसद गोपीबहादुर अछामीले अछाममा छाउगोठमा बसिरहेकी किशोरीमाथि भएको बलात्कारको घटनामा सरकारले गम्भीर भएर छानबिन गर्नुपर्नेमा जोड दिए। सांसद तुलसाकुमारी दाहालले पनि अछाममा छाउपडीप्रथाका कारण किशोरीमाथि भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै सरकार गम्भीर भएर छानबिन गर्नुपर्नेमा बताइन् । याे विषय सांसद मदनकुमारी साह सांसद भुवनबहादुर सुनुवारले पनि उठाए ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update