News 24 Television
विश्व नै ध्वस्त बनाउने कदम बढ्दै !

काठमाडौँ । विश्व राजनीति ध्रुविकृत बन्दा धेरै ठूला संकटहरु आउने आशंका गर्न थालिएका छन् । अमेरिका लगायतका शक्ति राष्ट्रहरुले युक्रेन र इजरायललाई गरिरहेको समर्थन र यसबाट फेरि विश्व दुई ध्रुवमा बाँडिने खतरा बढ्दै जाँदा मानवीय संकट आइपर्ने त होइन ? शंका छ । अमेरिका एकातिर चुनावको संघारमा छ । अर्कातिर, विभिन्न देशका युद्धमा अमेरिकाले बलियो समर्थन जनाउने क्रम बढेको छ । रुस र उत्तर कोरियाका गतिविधि पनि सशक्त बनिरहेका छन् । यी सबै अवस्थाले विश्वको सम्भावित परिदृश्य जटिल देखिएको छ । 

रुसविरुद्ध युद्ध लडिरहेको युक्रेन पश्चिमा शक्ति राष्ट्रको समर्थनमा अडिएको छ । पश्चिमा शक्तिमात्रै नभई दक्षिण कोरियाले समेत युक्रेनलाई हतियार दिने तयारी थालेको भन्दै रुस क्रुद्ध बनिरहेको छ । यता, प्यालेस्टिनीहरुले हजारौंको संख्यामा ज्यान गुमाएका छन् भने इजरायल निरन्तर जथाभावी गोलाबारुद प्रहार गरिरहेको छ । रेडक्रसदेखि अस्पताल र अशक्त, वृद्ध, महिला र बालबालिका हजारौंको मृत्यु भइसकेको छ । 

इजरायली सरकार प्रमुखले गाजामा हमास लडाकुलाई सक्ने गरी कारबाही थालिएको र आफु सफलतातर्फ रहेको दाबी गरिरहेका छन् । यद्यपि, इजरायलका सेना प्रमुखले सरकार प्रमुखको दाबीलाई खण्डन गर्दै इजरायलले हमासलाई समाप्त पार्न नसक्ने प्रतिक्रिया दिएका छन् । जे होस गाजामा देखिएको मानव बर्बरताको संयुक्त राष्ट्र संघले निरन्तर विरोध गरे पनि यसको प्रभाव खास पर्न सकेको देखिन्न । अमेरिका लगायतका शक्ति राष्ट्रहरु इजरायललाई हतियार बेच्नेदेखि अनेक आधुनिक प्रविधि बेचेर आफू धनी बन्ने ध्याउन्नमै देखिन्छन् । यसले इजरायल–प्यालेस्टाइन युद्ध थप भयानक बनिरहेको छ । 

यसरी नै रुस युक्रेन युद्धमा पनि अनेक तरिका अपाउने काम गर्ने हुनाले विश्व शान्ति खतरामा परेकोमा शंका छैन् । एक साताभर उत्तर कोरिया र भियतमान लगायतका मुलुकमा भ्रमण गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनेक तानावाना बुनिरहेका छन् । दक्षिण कोरियाले हतियार दिने तयारी गरेपछि आक्रोश पोखेका पुटिनलाई उत्तर कोरियाले समर्थन गर्ने आंकलन गरिएको छ । २० वर्षपछि प्योङयाङ पुगेका पुटिन र किम जोङ अनले गरेको सम्झौताका अनुसार पनि दक्षिण कोरियाले युक्रेनलाई हतियार दिएमा उत्तरबाट जवाफ फर्काउने रणनीति पुटिनको देखिन्छ । भने यता उत्तर पनि तयार हुनेछ । आर्थिक संकट र रकेट प्रविधिमा रुसको साथ खोजिरहेको उत्तरले पुटिनको सहयोगी बन्नेमा शंका देखिन्न । 

यता चीन पनि क्रुद्ध छ । ताइवान मामिलामा निर्मम निर्णय गरेको चीनले ताइवान स्वतन्त्र पक्षधरमाथि मृत्युदण्डसम्मको कानून पारित गरिसकेको छ भने पश्चिमा मुलुकहरु ताइवानलाई उक्साउने काम गरिरहेका छन् । यसैबीच भारतमा रहेका अमेरिकी अधिकारीहरुले हिमाञ्चलमा दलाई लामासँग भेटेर त्यही उभिदै चीन शासित तिब्बतलाई स्वतन्त्र राज्य बनाउने उद्घोष गरेको छ । यसले चीन थप चिढिएको छ । यसरी चीन पनि युद्धमा धकेलिएमा भने विश्व शान्तिमा ठूलो चुनौति देखा पर्नेछ । जसको परिणाम भयानक र नसोचेको हुनेमा शंका छैन् । 

अमेरिका पनि चुनावको संघारमा छ । अमेरिकी मतदातालाई विश्वासमा लिन पनि जो बाइडेनले यस्ता विभिन्न हर्कत गर्नेछन्, जसले अमेरिकालाई सर्वशक्तिमान बनाइराख्न बाइडेनकै आवश्यकता छ भन्ने भाष्य निर्माण गर्ने प्रयत्न हुनेछ । अमेरिकाको चुनाव नसकिएसम्म युद्धका रेखाहरु थप बलिया र समृद्ध बन्नेछन् । अमेरिकी मतदाताले कसरी नेतृत्व चयन गर्छन भन्ने विषयले विश्वको आगामी युद्ध भविष्य निर्धारण गर्नेछ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update