News 24 Television
घट्यो वीरगञ्जको बजेट : आर्थिक राजधानीको उद्देश्य

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि २ अर्ब ८९ करोड ४८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । शनिवार आयोजित १५ औं नगरसभामा महानगरपालिकाले बजेट प्रस्तुत गरेको हो । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने उद्देश्यसहित बजेट ल्याइएको महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामा बजेट प्रस्तुत गरिएको हो । महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले आलु आर्थिक वर्षको बजेट भन्दा ६२ करोडले कम बजेट प्रस्तुत गरेका हुन् । 

महानगरपालिकाले चालु खर्चतर्फ दुई अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरेको छ । महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख  लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ । त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने उद्देश्यसहित ल्याइएको बजेटमा युवा जनशक्तिलाई महानगरभित्रै स्वरोजगार बनाउने लक्ष्य राखिएको उपप्रुमख आलमले बताएका छन् ।

चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनको कारण राजश्व बाँडफाँट घटेको, घरजग्गा कारोबारमा आएको मन्दीको कारण रजिष्ट्रेशन आयस्रोत समेत घट्दा बजेटको आकार घटाउनु परेको उपप्रमुख आलमले स्पष्ट गरेका छन् । 

नगरसभामा बोल्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ‘वैभव वीरगंज’को परिकल्पना साकार पार्ने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताए । 

चुरे क्षेत्र अतिक्रमणका कारण तराईका जिल्लाहरुमा खानेपानीको स्रोत सुक्दै गएको भन्दै चुरेवासीहरु चिन्तित भइरहँदा वीरगञ्ज महानगरपालिकाले खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाईन विस्तारलाई प्राथमिकतामा राखेको छ भने पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति लिएको छ । वीरगञ्जमहानगरका ३२ वटा वडा सदस्यहरुले विभिन्न माग राख्दै नगरसभामा अवरोध गरेका थिए । मेयर सिंहले नगरपरिषद् सदस्यहरुको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि सभा सञ्चालन भएको थियो । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update