काठमाडौं । भिसामा सहजीकरण नहुँदा नेपालमा पढ्न आउन चाहने विदेशी विद्यार्थीको संख्या कम भएको पाइएको छ ।
नेपाली बिषयदेखि बुद्धिजम, टुरिजम, आयुर्वेदिक लगायतका बिषय पढ्न आउन चाहने विद्यार्थीलाई भिसामा समस्या देखिएको छ । यद्यपि सरकारले आगामी आर्थिक बर्षको बजेट कार्यक्रममा नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीको भिसा सहजीकरण गर्ने जनाएसँगै नयाँ शैक्षिक सत्रदेखि विदेशी विद्यार्थी ल्याउन सकिने सम्भांवना भने बढेको छ ।
नेपालबाट वर्सेनि लाखौं विद्यार्थी अध्ययनका लागि भन्दै विदेशिने गरेका छन् । कतिपय विदेशीहरु भने नेपालमा अध्ययन गर्न आउने गरेका छन् । नेपालमा पछिल्लो तीन वर्ष यता ३ हजार ६ सय ४० जना मात्र विदेशी विद्यार्थी अध्ययनकालागि नेपाल आएका छन् ।
अध्यागमन विभागका अनुसार अस्ट्रेलिया, अमेरिका, जापान, जर्मन, साउथ कोरिया, श्रीलंका, चीन, म्यानमार, भुटान, फ्रान्स, बेलायत लगायतका देशबाट विद्यार्थी नेपाल आएका छन् । तर नेपालका विश्वविद्यालय, प्रतिष्ठान तथा कलेजहरूमा कति विदेशी विद्यार्थी पढिरहेका छन् भन्ने यकिन तथ्याङ्क भने छैन । यद्यपी अध्यागमन विभाग मार्फत सन् २०२० मा ८ सय ७८ जना विदेशी विद्यार्थी नेपाल आएको देखिन्छ भने सन् २०२१ मा ८ सय ५९, सन् २०२२ मा ९ सय २५ जना आएका छन् ।
यो संख्या केही बढेर गत वर्ष ९ सय ७८ जना विद्यार्थी आएका छन् । विदेशी विद्यार्थी नेपालमा पढ्न आउन भने भिसा समस्या छ । उनीहरु विद्यार्थी भिसाबाट नेपाल आउन पाउदैनन् । भिजिट भिसामार्फत नेपाल आएर ६ महिनापछि विद्यार्थी भिसामा परिवर्तन गर्नुपर्ने हुन्छ । विदेशीहरूले त्यसरी भिजिट भिसामार्फत नेपाल आएर ६ महिनापछि भिसा परिवर्तन गर्नुपर्ने झन्झट भएका कारण धेरै विदेशी विद्यार्थी नेपाल आउन सकेका छैनन् ।
खासगरी नेपालमा मेडिकल शिक्षा एमबीबीएस, बीडीएस, एमडी, डीएम गर्न विदेशी विद्यार्थी आउने गरेका छन् । मेडिकल शिक्षा पढ्न आउने अधिकांश भारतीय विद्यार्थी छन् । गत वर्ष ५ सय ६२ जना विदेशी विद्यार्थी मेडिकल शिक्षा अध्ययनका लागि नेपाल आएका छन् । नेपालका मेडिकल कलेजहरुले विदेशी विद्यार्थी आउन थालेपछि विदेशी विद्यार्थीहरुका लागि सिट नै छुट्याउने गरेका छन् ।
काठमाडौँ विश्व विद्यालयमा हाल ६ प्रतिशत विदेशी विद्यार्थी अध्ययनरत छन् । भारत, श्रीलंका, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेको पाइएको छ । केयूमा हालसम्म पासआउट भएका ४२ हजार विद्यार्थी मध्ये १३ प्रतिशत विद्यार्थी विदेशी रहेको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।
यस्तै, विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम चलाएका ५८ वटा कलेजमा २ सय हाराहारीमा विदेशी विद्यार्थी रहेको जनाइएको छ ।
नेपालमा हाइड्रो इलेक्टिस, रक प्लान्टिङ प्रोग्राम, माउन्टेनरिङ प्रोग्राम, टुरिज्म प्रोग्राम, आयुर्वेदिक, मेडिसिन, इन्जिरियङ्, बुद्धिजम जस्ता शैक्षिक कार्यक्रमका लागि विदेशी विद्यार्थी ल्याउन सकिने सम्भावना रहेको छ । तर झन्झटिलो कानुनी व्यवस्था, विश्वविद्यालयहरूमा हुने राजनीति, तालाबन्दी लगायतका आन्दोलन, परीक्षा समयमै नहुने जस्ता समस्याका कारण विदेशी विद्यार्थी ल्याउन समस्या देखिएको छ ।