News 24 Television
हिमालहरुमा यस वर्ष के–के भयो ? 

काठमाडौं । यस वर्ष सरकारले हिमाल आरोहणबाट मात्रै ६८ करोड रुपैयाँ भन्दा बढी राजश्व प्राप्त गरेको छ । 

पर्यटन विभागको तथ्यांकअनुसार १ हजार तीन जनालाई सगरमाथा सहितका ३० हिमालमा आरोहण अनुमति प्रदान गर्दा ६८ करोड भन्दा बढी राजश्व संकलन भएको हो । 

चालु आर्थिक वर्षको हालसम्म सरकारले सगरमाथा सहितका ३० हिमालमा १  हजार ३ जनालाई आरोहण अनुमति प्रदान गर्याे । यसबाट मात्रै सरकारले रु. ६८ करोड ९९ लाख ७५ हजार भन्दा बढी राजश्व संकलन गरेको छ । 

नेपालीसहित विश्वका ८० देशका नागरिकहरुले नेपालका हिमालहरुको शिखर चुम्न अनुमति लिएका थिए । 

ति मध्ये सगरमाथा आरोहणका लागि ४ सय २१ जनाले अनुमति लिएका थिए । यी आरोहीलाई सफल आरोहण गराउन ७ सय ५० शेर्पाले अनुमति मागेका थिए । सगरमाथामा मात्रै यो वर्ष आरोही र शेर्पा गरेर ६ सय भन्दा बढीले सफता पूर्णक आरोहण गरेको पर्यटन विभागको तथ्यांक छ ।

सगरमाथा विश्वकै सर्वाेच्च शिखर भएकाले पनि धेरै आरोहीको रोजाईमा पर्ने गरेको छ । तिब्बतबाट भन्दा नेपालबाट सगरमाथा आरोहण गर्न सहज हुने भएकाले विश्वका धेरै नागरिक सगरमाथा आरोहणका लागि नेपाल आउने गर्छन् । यद्दपी, तिब्बततर्फबाट पनि यस बर्ष देखि आरोहण खुल्ला गरिएको छ । 

हिमालहरुमा यस वर्षका गतिविधि

यस वर्ष सगरमाथा आरोहणका क्रममा ८ जनाले ज्यान गुमाए । नेपाली  सफा हिमाल परियोजना अन्तर्गत नेपाली सेनाले सगरमाथा, ल्होत्से र नुप्त्सेबाट ११ हजार किलो फोहोर निकालियो । 

साथै ४ शव र एक मानव कंकाल पनि संकलन गरिएको छ । नेपाल हिमालै हिमालको देश हो । नेपालमा आठ हजार मिट भन्दा अग्ला आठ हिमाल छन् भने ६ हजार मिटरभन्दा माथिका १ हजार ३ सय १० चुचुराहरु छन् । 

यी हिमाल र चुचुराहरु हेर्न र चढ्न बर्षेनी हजारौंको संख्यामा पर्यटकहरु नेपालमा आउने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update