News 24 Television
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन

झापा । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् । 

पटक–पटक आफ्नो बचत फिर्ता माग्न कार्यालयमा जाँदा समेत सहकारीले विभिन्न बहाना बनाइ बचत फिर्ता नदिएको गुनासो बचतकर्ताहरुले गरेका छन् । सहकारी समस्यामा आउनुको मुख्य कारण सञ्चालक समितिले नै संस्थाको रकम अपचलन गरेको बचतकर्ताका आरोप छ ।  

यो हो झापाको विर्तामोडमा शिखर सहकारी संस्था । विगत १३ वर्षदेखि संचालनमा आएको यस  सहकारीमा न्युनतम ५ हजारदेखि १ करोड ८० लाखसम्म बचत गर्नेहरु छन् । उक्त सहकारीबाट सामान्य मजदुरदेखि डाक्टर प्रोफेसरहरु समेत पीडित बनेको छन् । 

सहकारीमा आफ्नो बचत फिर्ता माग्न जाँदा विभिन्न स्थानमा लगेर जग्गा देखाउने गरेको र जग्गा बिकेपछि मात्रै बचत फिर्ता गर्छौ भन्ने गरेर सञ्चालक समिति पन्छिने गरेको बचतकर्ताहरुले बताएका छन् । 

सञ्चालक समितिले संस्थाको नियम बिपरित विभिन्न स्थानहरुमा लगानी गरेका छन् । सञ्चालकहरुबाटै सहकारीको बचत  अपचलन गरिएपछि बचतकर्ताले निक्षेप फिर्ता पाउन नसकेका हुन् । 

विरामी भएर उपचारका लागि आफूले वचत गरेको रकम फिर्ता माग्दा समेत नपाएको गुनासो पीडितहरुको छ । संस्थाका कर्मचारीहरुले भने विभिन्न बाहना बनाएर वचतकर्ताहरुलाई फर्काउने गरेका छन् ।  

वचत फिर्ता मागेका पीडित मध्ये केहीले चेक बुझेका छन् । सहकारीबाट बुझेका चेक समेत साटिएका छैनन् ।  बैंकले चेक बाउन्स गर्नसमेत आनाकानी गरेको र जिल्ला प्रहरी कार्यालयले पनि उजुरी लिन नमानेको पीडितको गुनासो छ ।

डिभिजन सहकारी कार्यालय झापामा ०६७÷६८ मा दर्ता रहेको यो सहकारीमा ८ हजार ५६४ जना सेयर सदस्यहरुको बचत रहेको छ भने ७ सय जनामा ऋण प्रवाह गरेको संस्थाले जनाएको छ । संस्था सञ्चालकहरुले भने वचत भन्दा बढी ऋण लगानी हुँदा समस्या भएको बताएका छन् । ऋणी सदस्यहरुले भाकाभित्र सावाँव्याज रकम नतिरिदिँदा संस्थामा समस्या देखिएको र सञ्चालक समिति अहिले पनि ऋण उठाउन व्यस्त रहेकोेले चाडैं नै सवैको रकम फिर्ता गर्ने संस्थाको भनाइ छ ।  

अध्यक्ष राउतले सञ्चालक समितिभित्र पनि झन्डै १२ करोड ऋण लगानी रहेको जनाएका छन् । ३७ करोड ऋण उठ्न बाँकी रहेको र २८ करोड बचत फिर्ता गर्नुपर्ने अवस्था रहेको संस्थाले जनाएको छ । विभिन्न सहकारीको समस्याका कारण वचतकर्ताहरु त्रसित बनेको र सबै जनाले एकै पटक वचत फिर्ता माग्दा समस्या भएको सञ्चालकहरुको भनाई छ ।


 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update