News 24 Television
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन् । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल योगभूमि रहेको बताए ।

नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि भन्दै उनले नेपाल योगको धरोहर भएको बताए  । नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा नै विकसित भएको प्रधानमन्त्रीको भनाइ छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको पनि उनले बताए ।

‘नेपालको ऐतिहासिक अध्ययन तथा हाम्रा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि हो र यो योगको धरोहर पनि हो,’ प्रधानमन्त्रीले भने, ‘नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ । मठ, मन्दिर र मूर्तिकलामा होस् वा चित्रकलामा, पौवा, थान्का सबैतिर योगको नै प्रभाव देखिन्छ ।’

प्रधानमन्त्री दाहालले नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति रहेको पुष्टि हुने बताए । त्यसैले योग नेपालकै अमूल्य निधि भएको उनको तर्क छ । प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको उनले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update