News 24 Television
मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित

काठमाडौँ । सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगर्दा पीडितहरु न्याय खोज्दै सडकमा उत्रिएको वर्षौं भइसक्यो । सरकारले बचतकर्ताहरुलाई न्याय दिलाउन भन्दै सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति नै बनाएर पनि काम थालेको छ । विभिन्न २९ वटा सहकारीबारे संसदीय समितिमा छानबिन शुरु हुँदा अन्य सहकारीविरुद्ध पनि उजुरी पर्न थालेको छ । 

यो काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्यूरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्था हो । समस्याग्रस्त अन्य सहकारीले जस्तै यो सहकारी सञ्चालकहरुले सहकारीको बचत रकम अपचलन गरेको भेटिएको छ । सहकारी ऐन बिपरीत निक्षेप अपचलन गर्दै घर जग्गामा लगानी गरेपछि बचतकर्ताहरुले बचत रकम फिर्ता पाउन सकेका छैनन् ।

यो सहकारीका ३६ सय भन्दा बढी बचतकर्ताले ३ अर्ब २० करोड भन्दा बढी रकम विगत १८ महिनादेखि फिर्ता पाउन सकेका छैनन् । तर सञ्चालकहरुको शेयरपूँजी भने १४ करोड मात्रै छ । बचतकर्ताको ३ अर्ब बराबर रकम घर जग्गामा लगानी गरिएको छ । १८ महिनादेखि बचत रकम फिर्ता पाउन नसकेपछि मिलन सहकारीका पीडितहरुको उजुरी सहकारी विभागदेखि सरकारी कार्यालयमा परेको छ ।  

मिलन बहुउद्देश्यीय सहकारीमा एकै जनाले ११ करोड रुपैयाँसम्म बचत गरेका छन् । तीन करोड भन्दा बढी रकम सहकारीले फिर्ता नगरेको भन्दै विभागमा उजुरी दिएका छन् । सहकारीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठसहितका सञ्चालकहरु पीडितको सम्पर्कमा समेत आउन चाहेका छैनन् । तर सहकारीका कोषाध्यक्ष दिनेश बज्रचार्य भने आफुहरुले सहकारीको नाममा रहेको सम्पत्ती बेचेरै भए पनि बचतकर्ताको बचत फिर्ता गर्न लागिरहेको दाबी गरेका छन् ।  

सहकारी सञ्चालकहरु नै आफूहरुसको सम्पर्कमा आउनै नचाहेको भन्दै सरकारले नै हिसाव फरफारको जिम्मा लिई न्याय दिनुपर्ने माग पीडितहरुले गरेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update