काठमाडौँ । नेपाल र भारतले संयुक्तरुपमा रामायण तथा बुद्ध सर्किट निर्माण र प्रवद्र्धनका लागि योजना बनाएको लामै समय भइसक्यो । दुवै देशमा धार्मिक पर्यटनका माध्यमबाट आर्थिक समृद्धिको आधार तय गर्ने उद्देश्यका साथ सुरु भएको यो योजना सन्तोषजनकरुपमा कार्यान्वयनमा आएको छैन । तर बिहिवार संसदमा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले यो योजनाको कार्यान्वयनलाई गम्भिरताका साथ अघि बढाइरहेको दाबी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवद्र्धन गर्ने सहमति कार्यान्वयनमा सरकार गम्भिर रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहिवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा उनले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न पनि आगार्मी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिएको बताए । करिब ६ वर्षअघि भारतसँग भएको द्विपक्षीय सहमति अनुसार नेपाल र भारतका १५ वटा धार्मिकस्थललाई रामायण र बुद्ध सर्किटभित्र राखी तीनको निर्माण र प्रवर्धन गरिनेछ ।
जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार कार्यान्वयनको प्रक्रिया समेत अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।
सर्किटभित्र पर्ने धार्मिकस्थलहरू
धार्मिक ग्रन्थहरुमा उल्लेख भएका रामायणकालीन धार्मिकस्थललाई जोड्ने सडक अवधारणा रामायण सर्किट हो । भारतले रामायण कालसँग जोडिएका धार्मिक स्थलहरुलाई जोड्न तयार पारेको योजनामा नेपालको जनकपुर पनि समेटिएको छ । यो परियोजनामा त्रेतायुगमा राम र सीता पुगेका नेपाल, भारत र श्रीलंकाका धार्मिकहरुलाई एउटै मार्गले जोडिनेछ । जसमा नेपालको जनकपुरसहित भारतका अयोध्या, चित्रकुट, सीतामढी, नन्दीग्राम, नासिक लगायतका धार्मिकस्थलहरु छन् ।
यो सर्किटमा सीताको जन्मभूमि तथा रामको ससुराली भएका कारण जनकपुर झन महत्वपूर्ण हुने बिश्लेषण छ । यो सर्किट प्रवद्र्धनका लागि भारतले श्रीलंकासँग समेत सहमति गरिसकेको छ । त्यस्तै नेपालले बुद्ध जन्मभूमि लुम्बिनीलाई केन्द्रमा राखेर तिलौलाकोट, रामग्राम, गोटिहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्ध, स्वयम्भू लगायतका बौद्ध धार्मिकस्थल समेटेर बुद्ध सर्किट बनाउनेछ । उता भारतले बोधगयालाई केन्द्रमा राखेर सारनाथ, श्रावस्ती, कुशीनगर लगायतका स्थानलाई जोडेर करिब ७ सय किलोमीटर क्षेत्रमा बुद्ध सर्किट बनाउनेछ । र, यी दुबै बुद्ध सर्किट एकआपसमा जोडिनेछ ।
सर्किटको फाइदा
रामायण र बुद्ध सर्किट सञ्चालनमा आएपछि दुवै देशको धार्मिक पर्यटनले ठूलो फड्को मार्नेछ । भारतमा एक अर्बभन्दा बढि जनसंख्या हिन्दु धर्मावलम्वी छन् । हिन्दु धर्ममा राम र सीताको उच्च स्थान छ । त्यसैले सीताको जन्मस्थल र माइती भारतीय हिन्दु धर्मावलम्बीका लागि पनि विशेष हुन्छ ।
अहिले पनि स्वतस्फुर्तरुपमा वर्सेनि धेरै भारतीय जनकपुर आउँछन् । तर सर्किट नै बनाएर दुई देशले यी स्थानहरुका प्रवद्र्धन गर्न थालेपछि नेपालको जनकपुरमा पनि भारतीय धार्मिक पर्यटकको संख्या बृद्धि हुँदा त्यसले देशकै अर्थतन्त्रमा योगदान पु¥याउँछ । बुद्ध सर्किट सञ्चालमा आउँदा नेपाललाई पर्यकीय दृष्टिकोणमा गतिलै फाइदा पुग्छ ।
गौतम बुद्धसँग जोडिएका मुख्य चार स्थानमध्ये तीन वटा भारतमा पर्छन् । त्यसैले पनि नेपाल र भारत बाहेकका देशबाट आउने बौद्धमार्गीहरु पहिला भारत जाने र त्यहाँबाट नेपालको लुम्बिनी आउने गर्छन् ।
भारतीय ट्राभल्स एजेन्सीहरुबाट आउने अधिकांस पर्यटक केही घण्टाभित्रै लुम्बिनीको भ्रमण सकाएर भारत नै फर्कन्छन् । यसले गर्दा पनि आर्थिकरुपमा नेपालले जति फाइदा लिनु पर्ने हो सकिरहेको छैन । तर लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिने बुद्ध सर्किट सञ्चालनमा आएपछि भने नेपाल
भ्रमणमा आउने बौद्ध पर्यटकहरु कम्तिमा पनि एक साताको तालिका सहित आउनु पर्छ । यसले पर्यटनको नेपाल बसाई लम्बिदाँ आर्थिकरुपमा फाइदा पनि हुन्छ ।