झापा । आज २४ औँ विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइयो । तर झापाको दमकस्थित बेलडाँगी शिविरमा अनिश्चित भविष्य बोकेर बसिरहेका भुटानी शरणार्थीमा भने यो दिवसको कुनै उत्साह थिएन । उनीहरुका धेरै आफन्त पूर्नवासको क्रममा युरोप अमेरिका लगायतका देशमा पुगिसके तर उनीहरु भने मातृभूमि भुटान फर्किने झिनो आशमा शरणार्थी शिविरमै बसिरहेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन देशका उच्चपदस्थहरु नै सक्रिय भएको तथ्य मात्रै बाहिरिएन, यसमा संलग्न धेरैले जेलसम्म पुगे । तर वास्तविक भुटानी शरणार्थीको व्यथा भने ज्यूँका त्यूँ नै छ । बिहिवार विश्वभर शरणार्थी दिवसका अवसरमा विभिन्न कार्यक्रमहर भए, शरणार्थीका मुद्दामा ठूलाठूला बहस भए । तर नेपालको पूर्वी क्षेत्रमा करिब ३ दशक अघिदखि शरणार्थीका रुपमा बसिरहेका भुटानी शरणार्थीको दैनिकी चिन्ता र गुनासोमै बित्ने गरेको छ ।
आफुहरुको स्वदेश फिर्तीलाई शरणार्थी सम्बन्धी काम गरिरहेका कुनै पनि संघसंस्थाहरुले प्राथमिकता नदिएको उनीहरुको गुनासो छ । उनीहरुले आफ्नो समस्या समाधान गरिदिन धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका लगायतका अन्तराष्ट्रिय संस्थाहरुलाई पनि हारगुहार गरिसके । तर उनीहरुको मागको कतै सुनुवाई भएन । मातृभूमि फर्कने सम्भावना नदेखेपछि धेरै भुटानी शरणार्थी पूनर्वासको क्रममा तेस्रो मुलुक पुगे । तर यही छुटेका शरणार्थीहरुको विषयमा भने आजभोली कसैले चासो देखाउँदैनन् ।
हालसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्कमा लगायतका देशमा एक लाख १३ हजार ५०० भन्दा बढी पुनर्वासका क्रममा गइसकेका छन् । आधा परिवार तेस्रो मुलुक र आधा नेपालमा हुँदा शरणार्थीमा पारिवारिक विचलन आएको छ ।
आफ्नो देश फर्कन पाउने आशामा बसेका शरणार्थीहरु बढ्दो उमेरसँग झन पीडित बन्दै गइरहेका छन् । धेरैका छोराछोरी पूनर्वासमा गए । अहिले वृद्ध अवस्थामा रहेका उनीहरु चाहेर पनि छोराछोरीको सहारा लिन नसक्ने अवस्थामा छन् । बेल्डागी शिविरमा रहेका कतिपयलाई पुर्नवास लैजान प्रक्रिया चलिरहेको थियो । तर जब नक्कली भूटानी शरणार्थी प्रकरण बाहिर आयो त्यसपछि उनीहरुलाई तेस्रो मुलुक लैजाने कुरा पनि त्यतिकै सेलायो ।
तेस्रो मुलुक पुनर्बासका नाममा परिवार फुटाएर अलपत्र पारेको भन्दै नेपालमा रहेका भुटानीहरु शरणार्थीको आरोप छ । नेपालमै रहेका कतिपय पूनर्वास समाधान नभएको भन्दै यतै बसेका हुन् । त्यसैले पहिला स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्कने वातावरण बनाउने र त्यसपछि मात्रै अन्य प्रक्रियामा जानु पर्ने उनीहरुको माग छ ।