काठमाडौं । नेपालबाट विशेषगरी स्नातक तह पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवासँगै पुँजी पलायन भइरहेको छ । तर विदेश नै गएर अध्ययन गर्नुको तुलनामा निकै कम शुल्कमा विदेशी विश्वविद्यालयमा पढाई हुने विषयहरु स्वदेशमै पनि उपलव्ध छन् ।
सरकारले यस्ता कलेजहरुको अनुगमन गर्न नसक्दा विदेशी सम्बन्धनबाट खुलेका शिक्षण संस्थाहरु शैक्षिक परामर्श संस्था जस्तै बनेका कारण विद्यार्थीसम्म यस्ता शिक्षण संस्थाहरुको पहुँच पुग्न सकिरहेको छैन ।
विदेशका विश्वविद्यालयहरुमा अध्ययन गर्नुका साथै कमाई पनि गर्न सकिने भएपछि पछिल्लो समय विदेश जाने विद्यार्थीको संख्या निकै उकालो लागेको छ । नेपालबाट पछिल्ला ३ बर्ष यता मात्रै बार्षिक १ लाख भन्दा बढी विद्यार्थीहरु बाहिरिने गरेका छन् ।
१० बर्ष यता ६ लाख नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि गइसकेका छन् । देशभर उच्च शिक्षामा जम्मा ५ लाख ५६ हजार विद्यार्थी अध्ययरत छन् । तर विगत २६ बर्षदेखि विदेशका नाम चलेका विश्वविद्यालयहरुको पाठ्यक्रम नेपालमै अध्ययन गर्ने सुविधा उपलव्ध छ ।
देशभित्रका धेरै शिक्षण संस्थाहरुले विश्वका नाम चलेका विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
नेपालमा बेलायत, अमेरिका, मलेसिया, थाईल्यान्ड लगायतका ९ देशका ३५ विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।
नेपालमै बसेर ५८ वटा कलेजबाट ३० हजार विद्यार्थीले विदेशी विश्वविद्यालयको शिक्षा लिइरहेका छन् । यस्ता कलेजहरुमा सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट लगाएत २ सय ४० वटा बिषय पढाई हुन्छ ।
यतिसम्म कि विश्वविद्यालयकै शैक्षिक तालिका अनुसार नै पठनपाठन मात्र नभएर परीक्षा समेत एकै समयमा गर्छन् । तर विद्यार्थीको रोजाई विदेश नै जाने किन हुने गरेको छ त ?
नेपालमा पढाई हुने अन्तराष्ट्रिय स्तरका बिषयहरु
नेपालमा साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्ससम्मका विषय अध्ययन हुन्छन् । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएसआईटी, एमएसआईटी, बीबीए र एमबीए, बिजनेस तथा टेक्नोलोजी लगायत कार्यक्रम पनि सञ्चालन भईरहेको छ ।
एमबीएमा डाटा एनालाइटिक्स, एमबीएस आईटी, इन्फर्मेसन टेक्नोलोजी अर्थात एमबीआईटी, मोबाइल एप्लिकेशन डेभलपमेन्ट र कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स बीएससी सफ्टवेयर इन्जिनियरिङ, इन्भाइरोन्मेन्टल साइनस, बीबीए, बीएससी नेटवर्क इन्जिनियरिङलगायतका विषय पढाइ हुन्छ । यी बिषय अध्ययन गर्ने विद्यार्थीले ३ सय ६० क्रेडिट पूरा गरेपछि विश्वमा जहाँसुकै पनि स्नातकको मान्यता पाउने कलेजहरुले जनाएका छन् ।
विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेजले एक बिषयको १४ लाख सम्म शुल्क लिने गरेका छन् । जुन रकम विदेश गएर पढ्नु भन्दा धेरै कम हो भने विदेशमा जस्तो पढ्दै आफ्नो खर्च जुटाउनु पर्ने बाध्यतामा पनि हुँदै भने घरपरिवारकै बीचमा रहेर पनि यस्ता कोर्षहरु स्वदेशमै गर्न सकिन्छ ।
विश्वस्तरका शिक्षा स्वदेशमै पाउनु सकरात्मक विषय भएपनि यसमा केही कमीजोरीहरु पनि छन् । शिक्षा मन्त्रालयले अनुगमन गर्न नसक्दा शुल्कमा भईरहेको मनोमानी र गुणस्तरमाथि पनि प्रश्न उठ्ने गरेको छ ।
विदेशकै पढाई यहीँ हुने भएपछि विदेश जाने विद्यार्थी त घट्नुपर्ने हो । तर, ठ्याक्कै उल्टो भइरहेको छ । यहाँ अध्ययन गरे अनुसारको रोजगारी र पारिश्रामिक लगायतका समस्याले पनि विद्यार्थीलाई स्वदेशमै रोक्न सकिरहेको छैन । यस्ता विषयलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ सरकारको ध्यान जान नसकिरहेको विज्ञहरु बताउँछन् ।