पोखरा । कुनै समय घर बाहिर खेल्न गएका बालबालिकालाई घरमा फर्काउनै हम्मेहम्मे पर्दथ्यो अभिभावकलाई । तर, अहिले तिनै अभिभावकले बालबालिकालाई मोबाइल, टीभीलगाएतका विद्युतीय उपकरणमा कति झुण्डिएको भन्दै घर बाहिर खेल्न जाऊ भन्नुपर्ने अवस्था छ ।
पछिल्लो पुस्ताका बालबालिकालाई शारीरिक अभ्यास दिन र उनीहरू भित्रको डर भगाउन अनेकौं कार्यक्रमहरु नै गर्नु परिरहेको छ ।
बालबालिकाकै विकासका लागि पोखरामा एड्भेन्चर फेस्टिवल आयोजना गरिएको छ । वरिपरि घना जंगलले ढाकेको छ, जंगलको बीचमा केही टेन्ट गाडेर अस्थायी बासस्थान बनाइएको छ । त्यसैको नजिकै सैनिक अभ्यासको झल्को दिने विभिन्न साहसिक खेलका संरचनाहरु निर्माण गरिएका छन् ।
कोही डोरीमा झुण्डिएर वारपार गर्दैछन्, त कोही डोरी टाँगेर बनाइएको पुल जस्तो संरचनामा हिँड्दै छन् । कोही डोरीको जालीमा टेकेर माथि उक्लँदै छन्। झट्ट हेर्दा यी दृश्यहरु सैनिक अभ्यास लाग्न सक्छ । तर यि पोखरामा जारी दोस्रो एड्भेन्चर फेस्ट २०८१ का दृश्यहरु हुन् ।
नेपाल स्काउटको ७३औं स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश स्काउटले पोखरा ९ शान्ति वनमा एड्भेन्चर फेस्टिवल आयोजना गरेको छ । गण्डकी प्रदेशका सयवटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको यो फेस्टिवलमा विभिन्न २५ वटा साहसिक खेलहरु समावेश गरिएको छ ।
विभिन्न प्रकोपका समयमा उद्दारका लागि गरिने पूर्व तयारी तथा बालबालिकाको डर भगाई साहसिक कार्यमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले यो एड्भेन्चर फेस्टिवल आयोजना गरिएको हो ।
गण्डकी स्काउटमा करीब ८ हजार सदस्य रहेका छन् । ती मध्ये कम्तीमा पनि ४ हजार सदस्यलाई यो फेस्टिवलका खेलमा समावेश गराउने आयोजकको उद्देश्य छ । पोखरा र आसपासका विद्यार्थी तालिम लिएर एक दिनमै फर्किए पनि टाढाटाढाका विद्यार्थीहरुलाई जंगलमै खाने बस्ने व्यवस्था मिलाइएको छ ।
अरुबेला घरमै विद्युतीय उपकरणसँग रमाउने विद्यार्थीहरू फेस्टिवलको साहसिक खेलमा रमाउन पाउँदा निकै उत्साहित देखिन्छन् ।
घर भित्रै विद्युतीय उपकरणमा रमाउनाले बालबालिकाहरुको शारीरिक विकासमा निकै कमी आएको छ ।