काठमाडौं । बदलिँदो सत्ता समीकरणमा सरकारमा सामेल भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सय दिनको हनिमुन पिरियड पूरा गरिसकेको छ ।
राजनीतिमा यस अवधिको समग्र कार्यलाई अन्तिम मूल्याङ्कन नभनिएता पनि सय दिनमा के–कस्ता अभ्यासको थालनी भयो ?
भन्ने पक्षलाई हेरिन्छ । तर अनियमितता, विसंगति र वेथितिलाई निर्मूल गरि राजनीतिलाई सही ट्र्याकमा ल्याने उदेश्यले स्थापित रास्वपाले यस अवधिमा सोचेजति कार्यप्रर्दन गर्न नसकेको चर्चा भइरहेका छन् ।
बरु रास्वपामाथि काम भन्दा बदनाम धेरै भएको राजनीतिक वृतमा टिप्पणी भइरहेको छ । विग्रँदो राजनीतिलाई नयाँ मोडमा ल्याउने संकल्प गरेको रास्वपाले सरकारमा रहेर राम्रो काम गर्ने प्रयास गरेपनि अहिलेसम्म ठूलै सफलता प्राप्त गर्न सकेको छैन ।
उपप्रधान तथा गृहमन्त्रालयकै नेतृत्व सम्हालिरहेका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा संलग्न भएको गम्भीर आरेप खेपिरहेका छन् ।
यस विषयमा संसदीय छानविन समितिले रविमाथि पनि अनुसन्धान गर्नेछ । गठबन्धनमै रहेर एक्ला–एक्लै चुनाव लड्ने प्रस्ताव गरेको रास्वपाले इलाम – २ को उपनिर्वाचनमा नराम्रोसँग हार व्यहोर्यो ।
यसबाहेक सत्तामै रहेर विभिन्न सहयात्री दलहरुबाटै पेलानमा पर्ने गरेको रास्वपाका मन्त्रीहरुले आफ्नो सय दिने कामको फेहरिस्त सार्वजनिक गरेका छन् । रास्वपाले नेतृत्व गरिरहेको शिक्षा, श्रम, खेलकुद र गृहमन्त्रालयले प्रगति विवरण सार्वजनिक गरेका छन् ।
सय दिनमा कानूनी आधार तय भएको र अब विस्तारै त्यसको नतिजा आउने दावी गर्ने गृहमन्त्री रवि राम्रो काम नभएपनि नराम्रो काम नगरेको भन्दै रक्षात्मक बनिरहेका छन् ।
उता रास्वपाबाटै शिक्षामन्त्री रहेकी सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिबाट अलग गराएको विषयहरुलाई प्रगतिको रुपमा पेश गरेकी छन् ।
त्यस्तै खेलकुद क्षेत्रमा अत्यन्तै न्यून बजेट भएको गुनासो गर्दै आएका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ आफ्नो कार्यकालमा खेलकुद क्षेत्र चलायमान भएको दावी गर्छन् । तरपनि रास्वपाले पछिल्लो समय वर्तमान सत्ता गठबन्धनप्रति मोह घटाइरहेको छ ।
विविध राजनीतिक कारण र वातावरणले रास्वपालाई गठबन्धनमा सोचनीय अवस्थामा पुर्याएको छ । उस्तै परे रास्वपा सरकारबाट बाहिरिने मुडमा छ ।
सरकारमा सामेल भएको सय दिन पुग्दासम्म अपेक्षित कार्य गर्न नसकेको टिप्पणी भइरहेका बेला रास्वपाले पनि गठबन्धनप्रति नै पनि असन्तुष्टि जनाउन थालेको देखिन्छ । विगतभन्दा केही फरक गर्ने दावी गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै उत्कृष्ट लयमा छैनन् ।
उता दल स्थापनदेखि आमनिर्वाचन र सरकारमा रहेर काम गरिरहँदा रास्वपाको पनि चाम घटेको छ । रास्वपाले सरकारमा अपेक्षित कार्यप्रदर्शन गर्न सकेको देखिँदैन । यहीबीचमा सत्ता साझेदार देखि प्रतिपक्षी दलहरुले पनि रास्वपालाई लखेटिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा सभापति रविलाई निरन्तर खेदो खनेको थियो । पछिल्लो समय सत्ता सहयात्री दल नेकपा एमालेले पनि काँग्रेससँगको विवादलाई जोडेर रास्वपामाथि अस्वभाविक रुपले टिप्पणी गर्न थालेको छ ।
एमाले अध्यक्ष केपी ओलीले यसबाहेक रास्वपाका अन्य मन्त्रीहरुलाई पनि विभिन्न लाञ्छना लगाइरहेका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि रास्वपाले राजीनामा दिनसक्ने भनेर बताएको विषयलाई पत्याएका छैननन् । घुर्कीको रुपमा उक्त अभिव्यक्ति दिने गरेकोतर्फ संकेत गर्दै प्रचण्डले राजीनामा भन्ने शब्द रास्वपाको पहिचान भएको घुमाउरो जवाफ दिएका थिए ।
यही विषयलाई संसदमा उठाएर काँग्रेसले पनि राजीनामाले प्रधानमन्त्रीलाई कुनै फरक नपर्ने भन्दै रास्वपामाथि टिप्पणी गर्न थालेको छ ।
छोटो समयमै लोकप्रिय मत ल्याएर संसदमा चौथो दलको रुपमा स्थापित रास्वपा वैकल्पिक पार्टी बन्ने होडमा छ । यद्यपि सरकारमा आएपछि भने रास्वपाको लोकप्रियतामा ह्रास आएको प्रष्ट छ । दलहरुको व्यवहार र कार्यशैलीमा नै खोट देखाउँदै राजनीतिमा होमिएका सभापति रविले सरकारमा रहेर अपेक्षित कार्य गर्न सकेका छैनन् ।
स्वयं गृहमन्त्री रहेर पनि आँफैमाथि आरोप लागेको सहकारी ठगी प्रकरणका मुख्य नाइके जीवी राईलाई नियन्त्रण गर्न नसकेका रविका केही निर्णयहरु पनि विवादित बने ।
जसका कारण उनी सरकारमा रहेर राम्रो काम नभएपनि नराम्रो काम नगर्नु नै ठूलो विषय भएको तर्क गर्न बाध्य छन् । तर गृहमन्त्री रविले प्रहरी संगठनका लागि केही राम्रो कामको थालनी पनि गरेका छन् । तर जे होस् केही गर्छु भनेर राजनीतिमा होमिएका रविले सत्ता गठबन्धनमै रहँदा सहयात्री र प्रतिपक्षी दलहरुबाटै अनेकौँ प्रहारको सामना गर्नुपरेको छ ।