News 24 Television
चुरे उत्खनन : सुक्न थाले पानीका मुहान 

सर्लाही  । सर्लाहीको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा भएसँगै विगतका वर्षहरुमा झैँ यस वर्ष पनि खानेपानीको समस्या भएको छ । यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नुृ, बढ्दो वन विनाश र उत्खननले गर्दा खानेपानीका स्रोत चाँडो सुक्न थालेको हो । एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य छन् । 

चुरे क्षेत्रको जंगल विनास, जथाभागी ढुंगा गिटी बालुवा निकासी लगायतका कारणले चुरे क्षेत्रका ७९ प्रतिशत पानीको मुहान सुकेका छन् । खानेपानीको समस्या देखिएको चुरे क्षेत्र मध्ये सर्लाही जिल्ला पनि एक हो । सर्लाहीका लालबन्दी नगरपालिका १५ को रुन्चे बजार, धुसेनी, देउराली, भूमरा, तल्लो देउराली तथा लालबन्दी नगरपालिका १२ जल्किनीडाँडा र भालुखोपमा खानेपानीको समस्या देखिएको छ । 

लालबन्दी नगरपालिका १४ को नारायणखोला तथा ईश्वरपुर नगरपालिका १२ को घारीबथानमा खानेपानीको मुहान सुक्दै गएका छन् । यस्तै, हरिवन नगरपालिका १ पटौना लगायत चुरे क्षेत्रका बस्तीहरुमा खानेपानीको समस्या देखिएको छ । सर्लाहीको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीहरुमा खानेपानीको समस्या बढ्दै गएको छ ।  सुक्खा मौसममा त झन् खानेपानी पाउनै मुश्किल छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवा लगायतका  खानेपानीका स्रोत सुक्न थालेपछि यी बस्तीमा खानेपानीको अभाव सुरु भएको स्थानीयको भनाई छ ।    

चुरे क्षेत्रका बस्तीमा फागुन महिनाबाटै खानेपानीको समस्या सुरु हुने गरेको छ । लालबन्दी नगरपालिका १५ को देउराली, रुन्चे बजार र इश्वरपुर नगरपालिका १२ को घारीबथानका बासिन्दा बर्खा लागेपछि खोलाको धमिलो पानी पिउन बाध्य छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले खानेपानीको समस्याप्रति ध्यान नदिएपछि राजनीतिक नेतृत्वप्रति नै स्थानीय रुष्ट बनेका छन् । 

खोलानाला अतिक्रमण हुँदा चुरे क्षेत्रमा खानेपानीको समस्या भएको भन्दै मधेस प्रदेशका चुरे प्रभावित ठाउँका पीडितहरु वैशाख १६ गतेदेखि पैदल हिडेर जेठ १० गते काठमाडौं आइपुगेका थिए । चुरे अतिक्रमणको समस्या केन्द्र सरकारलाई सुनाउन भन्दै २३ जनाको समूह पैदल हिडेर काठमाडौं आए पनि केन्द्र सरकार गम्भीर देखिएन । तर स्थानीय सरकार भने खानेपानी समस्याप्रति गम्भीर रहेको बताएको छ । 

हिउँदको समयमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र विभिन्न किसीमका खानी उत्खननले गर्दा खानेपानीका स्रोत चाँडो सुक्न थालेको प्राविधिकहरूले बताएका छन् । लालबन्दी नगरपालिका  १५ मा ३९१ घर, १४ मा ७६४ घर, १२ मा १०३ घर र ईश्वरपुरमा ११ सय घरधुरीमा खानेपानीको अभाव छ । हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरु भालुखोप, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भएपनि जिम्मेवार निकाय गम्भीर भएको देखिदैन । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update