News 24 Television
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश

 काठमाडौँ । सरकारले कवाडी व्यवसायीहरूमाथि प्रहरी लगाएर धरपकड गरेको भन्दै सांसद अमरेशकुमार सिंह र प्रभु शाह आक्रोशित भएका छन् । प्रायः मधेसी मूलका कवाडी व्यवसायीहरूले पुराना र काम नलाग्ने कवाड वस्तु संकलन गरेर काठमाडौँमा गुजारा चलाउँदै आएका छन् । तर पछिल्लो समय काठमाडौँमा कवाडी व्यवसाय गर्न नपाउने भन्दै काठमाडौँ महानगरपालिकाले दमन गर्न थालेपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए । 

मंगलबार शान्तिपूर्ण र सांकेतिक विरोध प्रदर्शन गर्दा पनि कवाडी व्यवसायीहरूमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेको थियो । प्रहरीको लाठी चार्जका ५० जना भन्दा बढी कवाडी व्यवसायी घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको भन्दै सांसद प्रभु साहले सरकारमाथि आक्रोश पोखेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै साहले सांकेतिक विरोध प्रदर्शनका क्रममा उनीहरूमाथि प्रहरीले अत्याचार गरेको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन् । सांकेतिक विरोध र शान्तिपूर्ण प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको बताउँदै उनले दमनकारी प्रहरीलाई कारबाही गर्न माग समेत गरे । 

सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूमाथि सरकारले गरेको दमन मधेसी जनतामाथिकै दमन रहेको बताए । मंगलबारको प्रहरी दमनले नेपालमा फेरि पहाडिया र मधेसीबीच रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको उनले बताए । एउटा पहाडिया वर्गले आन्दोलन गर्दा पानीको फोहरा र कुनै दमन नहुने तर मधेसको मान्छेलाई काठमाडौंमा देख्नै नहुने यो कस्तो रणनीति हो सरकारको ? भन्दै उनले प्रश्न समेत गरे । काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो ? भन्दै सिंहले गृहमन्त्री लामिछानेसँग पनि जवाफ माग गरे । साथै उनले काठमाडौंका कवाड व्यवसायीहरूलाई कवाडी वस्तु र फोहोर लगेर मेयर बालेनको घर अगाडि र महानगर कार्यालय अगाडि लगेर फाल्न उर्दी समेत गरे । त्यसो गरेमा आफूले समेत सहयोग गर्ने उनको भनाइ थियो । 

यसअघि बालेनले नै सडक विभाग अगाडि एक ट्रक फोहोर थुपार्न लगाएको घटना स्मरण गराउँदै सांसद सिंहले त्यसरी नै बालेनको घरअगाडि पनि कवाडी थुपार्न आग्रह गरेका हुन् । उनले मेयर बालेन पपुलिज्ममा रमाएको बताए । पपुलिज्मको नाममा दुनियाँमा हिटलरजस्ता तानाशाही जन्मिएको बताउँदै हिटलरका कारण जर्मनीको जे हालत भयो, त्यही काठमाडौँमा हुन लागेको उनको तर्क थियो । गणतन्त्रात्मक शासन व्यवस्थामा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्ने र लखेट्न नहुने उनले बताए ।

काठमाडौं महानगरपालिकाले काठमाडौँमा कवाडी व्यवसाय गर्न र कवाडी संकलन केन्द्र राख्न नपाइने भन्दै पटकपटक सूचना जारी गरेर कवाडी वस्तु राखिएका स्थान खाली गराउन उर्दी जारी गरेको थियो । तर व्यवसायीहरू यसअघि पनि आन्दोलनमा उत्रिएका थिए र महानगरलाई अटेरी गरेका थिए । महानगरले कवाडी संकलन गरेर राख्ने ठाउँहरूमा डोजर चलाएर जबरजस्ती हटाउन थालेपछि गत फागुनदेखि नै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । गरिखान पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरूले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका थिए । मेयर बालेनविरुद्ध नाराबाजी गरेका थिए । तर प्रहरी प्रशासनले लाठी प्रहार गर्दै उनीहरूमाथि धरपकड गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएका थिए । 

कवाड व्यवसायीहरूले बुधबार पनि माइतीर–बानेश्वर एरियामा शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन् । यसअघि उच्च अदालत पाटनले कवाड व्यवसायीलाई काठमाडौँबाट नहटाउनु भन्ने आदेश दिएको थियो । तर पनि महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाउन नरोकेपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरू बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update