News 24 Television
सहकारी सचेतनाका लागि मेला

काठमाडौं । सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् । 

दक्ष कर्मचारी नहुनु, बचतकर्ताहरुमा सहकारीका बारेमा ज्ञान नहुनु र राज्यको गैर–जिम्मेवारीपन पनि सहकारी डुब्नुको अर्काे कारण हो । 

यस्तो अवस्थामा सहकारीका बारेमा जानकारी दिन गर्न लागिएको सहकारी रोजगार मेलालाई सकरात्मक नै मान्न सकिएला तर देशभरी नै सहकारीप्रति नकरात्मक सोच बनिरहेका बेला गुमेको विश्वास फर्काउन मेला कत्तिको फलदायी बन्ला त ? 

संविधानमा व्यवस्था भएको तिन खम्बे अर्थनीति अन्तर्गत पर्ने सहकारीमा सहकारी ऐन र सहकारी सिद्धान्त विपरीत काम हुदाँ अहिले जनताको अर्बौं रकम सीमित व्यक्तिहरुले झ्वाम पारेका छन् । सहकारी बचत रकम अपचलनका मुद्दामा गृहमन्त्रीदेखि सांसद, राजनीतिक दलका नेता, कथित ठूला व्यवसायी र सहकारी अभियन्ताको खोल ओढ्ेैहरु एकपछि अर्काे डामिन थालेपछि यो क्षेत्र त्यसै बदनाम बनेको छ । 

सहकारी क्षेत्रमा राज्यको निकायले त्यसको सम्पूर्ण हिसाब किताब र पारदर्शिताको विषयमा चासो नदिदाँ पनि सहकारी सञ्चालक मनमौजी बनेका हुन् । त्यसैले यस्ता समस्याले भविष्यमा बिकराल रुप लिन नदिन र सहकारीको साँख बचाउनका लागि यस क्षेत्रको बारेमा सर्वसाधारणलाई जानकारी दिन ललितपुरस्थित पुलचोकमा असार ७, ८ र ९ सहकारी रोजगार मेला आयोजना गर्न लागिएको हो । 

गाउँमा नेता जाँदा चोर आयो भन्ने उखान जस्तै सहरी सञ्चालक देख्दा ठग आयो भन्ने अवस्था अहिले छ । सहकारी भित्र सहकारीका सात सिद्धान्तका किताव दराजमा थन्काएर काम हुनु अहिलेको जल्दो बल्दो समस्याको मुख्य कारण हो । 

यही कारण देश भर ३१ हजार भन्दा बढी सहकारी सञ्चालनमा रहदाँ सहकारी क्षेत्रबाट भएका राम्रा कामहरुले भन्दा नराम्रा कामहरुले चर्चा पाउँदा यो क्षेत्र बदनाम बनेको हो । समाजवादको यात्रा सहकारीबाट पुरा गर्ने सरकारको लक्ष्यभित्र सहकारी व्यवस्थीत गर्न के गर्ने भन्ने स्पष्ट नीति नहुनु र भएको नीतिको पनि कार्यान्वयन फितलो हुनुले समाजवाद बचतकर्ताको पेटमा लात हान्ने व्यवस्था हो ? भन्ने अवस्था सिर्जना भएको छ । 

नागरिकको यति ठूलो लगानीप्रति राज्यका सर्वेसर्वाहरु बेखबर जस्तै बन्नु गैरजिम्मेवारीको पराकाष्ठा हो । सहकारी सञ्चालकहरु ठग बन्दै जानुले राज्यले अबलम्बन गरेको नीति नै गलत हो भन्ने भाष्य स्थापित बन्दै गइरहेको छ । 

यस्तो अवस्थामा सहकारीमा दक्ष कामदारको खोजी, बचतकर्ताहरुमा सहकारीका बारेमा सचेत बनाउने, उद्यमशीलतालाई प्रोत्साहन र स्वरोजगार जस्ता कुराहरुका बारेमा जानकारी दिन मेलामा आयोजना गर्नु सकरात्मक पाटो हो ।  

सहकारी क्षेत्रमा कसरी समस्या आउँछ, यसको सञ्चालन कसरी गर्ने, कामदारमा हुनु पर्ने क्षमता कस्तो हो ? बचतकर्ता र ऋणीहरुले सहकारीमा कसरी कारोवार गर्ने र के कुरामा ध्यान दिने भन्ने मेलाबाट जानकारी दिन सके यो मेला फलदायी नै हुने छ । तर विगतमा दिईएका अर्थहिन गोष्ठि, प्रशिक्षणहरु पुनः यो मेलामा दोहोरीए यसले कुनै अर्थ राख्ने छैन । 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update