News 24 Television
संघ र प्रदेशको बजेटले बोलेन गौतमबुद्ध विमानस्थलको समस्या

रुपन्देही । संघीय संसदमा अर्थमन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशसभामा आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा मुलुककै दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेका एक शब्द उच्चारण गरेनन् । 

विमानस्थल संचालनको योजना, बजेटबारे केही उल्लेख नभएपछि यसले भैरहवा र आसपासका निजी क्षेत्र निकै निराश बनेको छ । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएको २५ महिना भएको छ । 

यदि विमानस्थलप्रति सरकारी तदारुकता देखिएको भए यतिबेला भैरहवामा २५ बढी आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट दैनिक १० हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक ओर्लिन्थे । 

पर्यटकको आगमनले रुपन्देही र आसपासका क्षेत्र गुल्जार बन्थे । तर, विडम्बना राज्यले ४० अर्ब हाराहारी खर्चेर बनाएको विमानस्थल भने सुनसान छ । 

एउटा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । संचालनको लामो समयसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र चरम निराशामा छ । 

कैयौं निर्माणाधीन ठूला होटल तथा रेष्टुरेन्ट र निर्यातजन्य उद्योगहरु विमानस्थल पूर्णक्षमतामा संचालन नभएकै कारण उद्योगी–व्यवसायीले निर्माणकै क्रममा रोकेका छन् ।

संचालनमा रहेका गनिएका होटलहरु सुनसान छन् । व्यवसायीले आफूहरुको लगानी बालुवामा पानी हालेसरह भएको गुनासो गरिरहेका छन् । 

विमानस्थल बनाउनुको मुख्य उद्देश्य बौद्धिष्ट मुलुकहरुमा कनेक्टिभिटी बढाउने र बौद्ध मार्गीहरुलाई लुम्बिनी ल्याउने हो । तर, विमानस्थल संचालनमा आएको २ वर्ष भइसक्दासम्म पनि बौद्धिष्ट मुलुकहरुमा उडान गर्ने कुनै तयारीे छैन । 

विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा मात्रै ५०–६० अर्ब लगानी भएको व्यवसायीको दावी छ । यस्तै, साना तथा घरेलु उद्योग, होटल तथा रेष्टुरेन्ट, समाज सेन्टर, कृषिउपजमा पनि करोडौं लगानी गरिएको छ । विमानस्थल ठप्प हुँदा लगानी गरेका व्यवसायीलाई ‘आकाशको फल, आँखातरि मर’ जस्तै भएको छ ।

विमानस्थलमा उद्घाटनयता अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न भन्दै अवतरण, गृह आश्रय, पार्किङ, संचार तथा उड्डयन सहाय शुल्क, सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिइएको छ । तर, पनि अन्तर्राष्ट्रिय एयरलाइन्सहरु गौतमबुद्ध विमानस्थलमा आकर्षित हुन सकेका छैनन ।

निजी क्षेत्रमा विमानस्थलबारे चरम निराशा हुँदासमेत रुपन्देहीका ५ क्षेत्रबाटै निर्वाचित संघ र प्रदेशका सांसदहरु चुपचाप छन् । केही समय उडान भरेका जजिरा, हिमालयन र नेपाल एयरलाइन्सले पनि उडान स्थगित गरेका छन् । 

विमानस्थल विजनेशबिहीन बन्दा कर्मचारी फुर्सदिला बनेका छन् । जसले गर्दा राज्यलाई ठूलो व्ययभार बढाउँदै लगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update