News 24 Television
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान !

काठमाडौं । पछिल्ला दिनहरुमा चीनले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणलाई तीव्रता दिइरहेको  छ । भ्रमणको विस्तारमा आक्रामक देखिन्छ, चीन । 

चीनका नीतिहरु प्रति बलियो प्रतिबद्धता र थप विश्वासको वातावरणका लागि चीनले नेपालमा कूटनीतिक सक्रियता बढाएको देखिन्छ । 

चीनको नेपाल चासोमा पुनः चर्चा चुलिएको छ, चीनको सर्वोच्च जनअदालतको न्याय निर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङको नेपाल  भ्रमणले । 

पछिल्ला वर्षहरुमा चीनमाथि एक चीन नीतिलाई जोगाई राख्ने चुनौति थपिदै गएको छ । तिब्बतप्रति भारतको रणनीति अनि ताइवानसँग अमेरिकी सम्बन्धले एक चीन नीतिमाथि चुनौति थपिएको विश्व राजनीतिका विश्लेषकहरुले बताउने गरेका छन् ।

त्यसैले पनि चीन अन्य मुलुकसँग एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउनका लागि कूटनीतिक अभ्यासमा सक्रिय छ । यही अवस्थाका बीच कूटनीतिक अभ्यासबाट राजनीतिक सन्तुलनता बढाउनकै लागि प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले गएको आइतबार शिष्टाचार भेट गरेका थिए । 

यस अघि पनि निरन्तर उच्चस्तरीय भेटवार्ता चलिरहेकै थिए । अहिले फेरि चिनियाँ सर्वोच्च अदालतका न्यायाधीशले नेपालमा उच्चस्तरीय भ्रमण गरेका छन् । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा नेपाल आएका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङले सर्वोच्चका न्यायाधीशसँग समेत भेटवार्ता गरे । 

सर्वोच्चमा भेटवार्तापछि उनले कानूनमन्त्री पदम गिरीलाई समेत भेटेका छन् । भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुशी व्यक्त गरे । नेपाल र चीनबीच सदियौंदेखि रहि आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा व्यक्त गरेको बताइएको छ । 

यस्तै, मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीतिप्रतिको नेपालको प्रतिवद्धताको प्रशंसा गर्दै कानून तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बीचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरेको बताइएको छ ।

चिनियाँ सक्रियता

चीन नेपाललाई उच्च प्राथमिकतामा राख्दै सम्बन्ध स्थापित गराउने ध्याउन्नमा केन्द्रित छ । पछिल्लो समय अमेरिकाले भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर तिब्बतको स्वतन्त्रताको विषय उठाएर विवाद ल्याउने काम गरेको छ । 

दक्षिण एसियामा आफ्नो प्रभुत्व जमाउँदै विश्व राजनीतिमा नम्बर एकका रुपमा उदय हुने उद्देश्य चीनको  छ । अनि भारतपनि सोही बाटोतर्फ अग्रसर देखिन्छ ।

त्यसैले पनि राजनैतिक, आर्थिक, सामाजिक तथा सैनिक होडबाजीमा लागि परेका छन् चीन र भारत । चीन र भारतको बीचमा छ नेपाल । त्यसैले पनि चीन र भारतले लिएको सुरक्षा नीतिको चेपुवामा नेपाल परिनै रहेको छ । 

चीनको नेपाल चासो र सामरिक महत्व

चीन र भारतका लागि नेपाल संवेदनशिलतामा उच्च हुनुको कारण हो, उत्तरमा कम्युनिष्ट मुलुक चीनसँग नेपालको सीमा करिब १ हजार २ सय ३६ कि.मि. र दक्षिणमा लोकतान्त्रिक मुलुक भारतसँग १ हजार ६ सय ९० कि.मि. सीमाना जोडिनु । अनि, चीनको स्वशासित राज्य तिब्बतसित नेपालको सम्बन्ध भौगोलिक, सामाजिक, धार्मिक एवम् ऐतिहासिक र व्यापारिक छ ।

हो यसै कारण चीन आफ्नो ‘भित्री सुरक्षा घेरामा रहेको’ तिब्बतभित्र नेपाललाई प्रयोग गरि ‘विश्व वा क्षेत्रीय शक्तिले चीन विरोधी घुसपैठ कुनै हालतमा गर्न नपाओस भन्ने चाहन्छ । चीनको अन्भेषण अनुसार तिब्बतलाई चीनबाट अलग गर्न स्वतन्त्र तिब्बतको नारा बोक्ने विदेशी शक्तिबाट सञ्चालित अर्राष्ट्रिय तत्वहरुले नेपाललाई प्रयोग गर्ने कोसिस गरिरहेका छन् ।

उनीहरु नेपाल, भारत र अन्य छिमेकी मुलुकमै छन् भन्ने दाबी चीनको छ । अझ् दलाई लामालगायतको समूहलाई त चीनले भारत र अमेरिकाको इसारामा सदियौंदेखि चीनविरुद्ध लागेको अभिव्यक्ति प्रत्यक्ष अप्रत्यक्ष बताइरहेको छ । 

त्यसैले तिब्बतका विषयमा चीनका लागि भारत टाउको दुखाईको पक्ष हो । भारतमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि मुलुकको नेतृत्वकर्ताका रुपमा स्थापित हुनु अनि अमेरिका र मोदीको निकटता बढ्नुले चीन नेपालप्रति थप चनाखो बन्नु परेको हो । 

भारतसँग नेपालको आर्थिक मात्रै होइन सांस्कृतिक, ऐतिहासिक सम्बन्ध छ । यसले पनि चीनलाई कूटनीतिक सक्रियता बढाउन आवश्यक बनाएको देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update