News 24 Television
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति

काठमाडौँ । सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ । 

बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको बताए । उनले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरुमा छलफल भएको बताए । 

नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको थापाको भनाइ छ ।

उनले भने, ‘नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगाना उहाँहरु हाम्रो आमन्त्रणमा आउनुभएको थियो । आजको बैठकमा आज उहाँहरुसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरुका सन्दर्भमा कानूनी प्रवन्धहरु लगायतका विषयमा छलफल गरेका छौँ । समितिले उहाँहरुसँगको छलफलबाट लाभान्वित भएको महशुस गरेको छ । अर्को बैठक १० गते बस्नेछ ।’

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update