काठमाडौँ । सरकारले पाठेघरमा खस्ने समस्या रोकथामका लागि निशुःल्क परिक्षण तथा शल्यक्रिया गर्ने गरेको छ । तर, अहिले पनि ग्रामिण भेगका महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित छन् । अझं महिलाहरु पाठेघर खस्ने समस्यालाई बाहिर ल्याउन लजाउने भएकाले समस्या समाधान हुन सकेको देखिन्न ।
उनी हुन्, मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा १० की कोशेली बुढा, उनी ४ वर्ष देखि पाठेघर खस्ने समस्याबाट पिडीत बनेकी छन् । तर, उनले सरकारले निशुःल्क प्रदान गदै आएको पाठेघर सम्बन्धि उपचार सेवा उपभोग गर्न पाएकी छैनन् ।
मुगु छाँयानाथकी कोशली बुढा मात्र हैन छायाँनाथ रारा नगपलिका आङ्ग खस्ने समस्याबाट ग्रसित धेरै महिलाले सरकारले प्रदान गदै आएको निशुल्क स्वास्थ्य उपचार सेवा पाउन सकेका छैनन् ।
सरकारले पाठेघर खस्ने समस्या नियन्त्रण गर्न पाठेघर (आङ्ग) खस्ने समस्याको रोकथाम, उपचार सम्बन्धी कार्यविधि निर्देशिका–२०६५ दोश्रो संशोधन २०६८ बनाएको छ । जसको परिच्छेद २ मा सेवा सुविधा सम्बन्धी व्यवस्था गरेको छ । जसमा पाठेघर खस्ने समस्याको रोकथाम, उपचार र शल्यक्रियाका लागि देहाय बमोजिमको सेवा सुविधा प्रदान गरिने प्रष्ट लेखिएको छ ।
साथै शल्यक्रिया सेवाका लागि प्रेषण भइ आएका वा आफैं आएका सेवाग्राहीलाई स्वास्थ्य संस्थामा वा शिविरमा निःशुल्क शल्यक्रिया, शल्यक्रिया पछिको अनिवार्य फलोअप सेवा प्रदान गरिनुका साथै सेवाग्राही महिलालाई शल्यक्रियाको लागि स्वास्थ्य संस्था तथा शिविर सम्म आउँदा र घर फर्कदा लाग्ने यातायात खर्च समेत सरकारले प्रदान गरेको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको अनुसार गत वर्ष प्रजनन् स्वास्थ्य आङ्ग खस्ने समस्या पहिचान उपचार लगायतका लागि भनेर स्थानीय तहमा १० करोड ७० लाख बजेट पठाएको थियो ।
साथै प्रदेश स्तरका लागि ९० लाख बिनियोजन गरिएको तथा जिल्ला स्वास्थ्य कार्यलयका लागि ७ करोड ७८ लाख रकम छुट्याएको थियो ।
नेश्नल लाइब्रेरी अफ मेडिसिनको तथ्यांक अनुसार नेपालमा करिब ६ लाख महिला आङ्ग खस्ने समस्याबाट ग्रसित छन् जसमा एक तिहाइ महिलालाई शल्यक्रिया गर्न आवश्यक छ । शहरी क्षेत्रका महिलाको तुलनमा ग्रामिण भेगका महिलाहरु अहिले पनि प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न लजाउँछन् । जसका कारण पनि पाठेघर खस्ने समस्या पहिचानमा समस्या एक तर्फ छदै छ ।
अर्कोतर्फ पाठेघर खस्ने समस्या भएका महिला उपचारका लागि कहाँ कसरी जाने भन्ने जानकारी अभावमा तथा उपचार आवश्यक परेका स्थानमा सेवा नै नपुग्दा ग्रामिण क्षेत्रका महिलाले आङ्ग खस्ने समस्या जस्तो कष्टकर स्वास्थ्य समस्या लिएर जीवन विताउँन बाध्य बनेका छन् ।