News 24 Television
ओझेलमा पोखराको खास्टे ताल, कमलको फूलका लागि उत्कृष्ट गन्तव्य

कास्की । पोखरा तालै तालको सहर हो । पोखराका हरेक तालले आ–आफ्नै फरक विशेषता बोकेका छन् । यस्तै फरक विशेषता बोकेको ताल हो खास्टे ताल । जुन ताल कमल फूलको अध्ययन र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । 

‘क’ बाट कमल’ भनेर कखरा सिकेका अधिकांशलाई साच्चिकै कमलको फूल कस्तो हुन्छ थाहा नहुन सक्छ । ताल तलैयामा मात्र पाइने कमलको फूल लोप हुने अवस्थामा छ, तर पोखरा महानगरपालिका २६ को खास्टे तालमा फुलेको कमलको फूलको संरक्षणमा स्थानीय जुटेका छन् । 

जेठ असार महिना कमल फूल फुल्ने महिना हो । खास्टे तालको एउटा भागलाई सेताम्मे फुलेका कमल फूलले ढकमक्क ढाकेको छ । कास्कीमा अन्य तालमा पनि कमल फूल फुल्ने गर्थे तर अहिले लोप भइसकेका छन् । 

धार्मिक हिसावले पनि कमलको फूल निकै महत्व छ । कमललाई भगवान ब्रम्हाको नाभिबाट फुल्ने फूल भनेर शास्त्रहरुमा वर्णन गरिएको छ । कमलको जरा, फूल र फल विभिन्न औषधि बनाउन समेत प्रयोग हुने गर्छ । 

त्यसैले कमलको फूल लोप हुन नदिन स्थानीय यसको संरक्षणमा जुटेका हुन् । केहि वर्ष अघिसम्म खास्टे ताल जालै जालले भरिएको र पानी समेत नदेखिने अवस्थामा थियो । जब स्थानीयहरूले ताल संरक्षणका लागि उपभोक्ता समिति नै गठन गरेर अघि बढे, तब खास्टे ताल विशाल बनेको छ र उत्तिकै सुन्दर पनि देखिन थालेको छ । 

३८० रोपनी क्षेत्रफलमा फैलीएको खास्टे तालमा स्थानियहरुले सहकारी गठन गरी ८ प्रकारका माछाको व्यवसायीक पालन गरिएको छ । 

तालमै जेष्ठी बाराहीको मन्दिर छ । जसले यो तालको धार्मिक महत्व दर्शाउछ । हरियो वन र ताल प्राधिकरणको सहयोगमा स्थानियहरुले खास्टे तालले अहिलेको स्वरुप पाएको हो । तर यसको प्रचार तथा प्रवद्र्धनमा स्थानिय निकायदेखी सरोकारवालाहरुको सहयोग नहुँदा पर्यटकको आगमन हुन नसकेको ताल संरक्षण समितिका अध्यक्ष हरीप्रसाद अधिकारीको भनाइ छ ।

पोखराको फेवा, बेगनास र रुपा ताल देश विदेशमा चर्चित छ । पोखराको ताल भन्ने बित्तिकै अधिकांशले यिनै तीन वटा ताललाई मात्रै सम्झिन्छन् । तर पोखरामा यी ताल मात्र होइन, खास्टे जस्ता तालहरु पनि छन् । तर खास्टे जस्ता सुन्दर ताल अहिलेसम्म ओझेलमा छन् । 

स्थानिय तहदेखि पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्थाकै नजर नपुगेको ठाँउमा स्थानियहरुले जे जस्तो पहल र विकास गरेका छन् त्यो भने काफी छ । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update