News 24 Television
बर्सेनी १ लाख विद्यार्थीले देश छोड्दै, अर्थतन्त्रमै धक्का 

काठमाडौँ । पछिल्लो ३ बर्ष यताको तथ्यांक हेर्दा प्रत्येक वर्ष १ लाखको संख्यामा विद्यार्थी वैदेशिक अध्ययनमा जाने गरेको पाईएको छ । कोरोना संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट जाने विद्यार्थीको संख्या बढ्दा सोही अनुरुप रकम पनि बाहिरिने गरको सरकारी तथ्यांकले देखाएको छ । 

चालू आर्थिक वर्षमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेशिएको  रकममा हाल सम्मकै रेकर्ड बनेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैदेशिक अध्ययनका लागि नेपालबाट १ खर्व ४ अर्व रुपैयाँ बाहिरिएको छ । आर्थिक सर्वेक्षणले गत साउनदेखि फागुन महिनासम्म ८ महिनाको अवधिमा ९० हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेको देखाएको छ । 

१० वर्षमा नो अब्जेक्सन लेटर लिने विद्यार्थी 

आर्थिक बर्ष २०७१/७२ मा ३० हजार ७ सय ९७ जनाले मात्र एनओसी लिएका थिए । त्यसको अर्को बर्ष त्यो संख्या बढेर आर्थिक बर्ष २०७२/७३ मा ३७ हजार १ सय ४८ जनाले अनुमति लिए । आर्थिक बर्ष २०७३/०७४ मा वैदेशिक अनुमति पत्र लिने विद्यार्थीको संख्या  ५० हजार ७ सय ९६ पुग्यो । 

त्यसको अको बर्ष ५८ हजार ७ सय ५८ जनाले लिए । नो अब्जेक्सन लेटर लिनेको संख्या क्रमश बढ्दै गयो । आर्थिक बर्ष २०७५/७६ मा ६३ हजार ४ सय १७ जना विद्यार्थीले अनुमति लिए । कोरोना महामारी फैलिएको आर्थिक बर्ष २०७६/७७ मा बैदेशिक अनुमति पत्र लिने विद्यार्थीको संख्या केही कम भयो । सो बर्ष ३३ हजार १ सय ९६ जना विद्यार्थीले अनुमति पाए । 

आर्थिक बर्ष २०७७/७८ मा २८ हजार ८ सय ७३ जनाले मात्र अनुमति लिएका थिए । कोरोनाले दुई वर्षसम्म प्रभावित बनेको वैदेशिक अध्ययनका लागि ३ बर्ष यता भने एनओसी लैजानेको संख्या तेब्बरले बढेको छ । आर्थिक बर्ष २०७८/७९ १ लाख २ हजार ५ सय ४ जनाले एनओसी लिएका थिए भने  आर्थिक बर्ष २०७९/८० १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले अनुमति पाए । 

आर्थिक बर्ष २०८०/८१ फागुन महिना सम्म ९० हजार १ सय ६९ जनाले नो अब्जेक्सन लेटर लिइसकेका छन् । विद्यालयतह पश्चात बार्षिक ठूलो संख्या विद्यार्थी बाहिरिनुले नेपालको शैक्षिक क्षेत्रमा असर त पार्छ नै शिक्षाकै लागि ठूलो रकम बाहिरिदाँ देशको अर्थतन्त्रमै ठूलो असर परिरहेको जानकार बताउँछन् । 

कुन देशमा कति जान्छन् विद्यार्थी ?

पछिल्लो तथ्यांक अनुसार बैदेशिक अध्ययनकालागि सबैभन्दा धेरै विद्यार्थी जापान जाने गरेका छन् । चालु आर्थिक बर्षमा एनओसी लिएका मध्ये ३३ प्रतिशत विद्यार्थी जापान गएका छन् । १८ प्रतिशत विद्यार्थीले क्यानडा पुगेका छन् । १४ दशमलव ४ प्रतिशत विद्यार्थी अष्ट्रेलिया गएका छन् भने १० दशमलव ३ प्रतिशत संयुक्त अधिराज्य बेलायत गएका छन्  । 

त्यस्तै ७ दशमलव ५ प्रतिशत विद्यार्थी अमेरिका पुगेका छन् । दक्षिण कोरिया, फ्रान्स, डेनमार्क, भारत लगाएतका देशमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् । बैदेशिक अध्ययनमा ५ बर्ष यता मात्र २ खर्व ६५ अर्व १२ करोड रुपैयाँ रकम बाहिरिएको छ । जसमा सबै भन्दा बढी गत बर्ष १ खर्व ४२ अर्व रुपैयाँ रकम बाहिरिएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update