News 24 Television
टी-२० विश्वकपमा नेपाल कहाँ चुक्यो ?  

काठमाडौँ । नेपालको आईसीसी टी-२० विश्वकप क्रिकेट यात्रा जितविहिन हुँदै टुंगिएको छ । नेदरल्याण्डसँगको पहिलो खेल पराजयपछि अन्य खेलमा सफलता ल्याउने विश्वासका साथ मैदान उत्रिएको नेपाली टोली सबै खेलमा जितविहिन हुँदै विश्वकप यात्रा टुंग्याएको हो । कस्तो रह्यो त विश्वकप यात्रा ? 

आईसीसी मेन्स टी २० विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्डस्सँग ६ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नेदरल्याण्डस्सँगको खेलमा १०६ रनको योगफल तयार गरेको थियो । १०७ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले ८ बल बाँकी छँदै ६ विकेटको जित निकालेको थियो । 

पहिलो खेलको पराजयपछि नेपाली खेलाडीहरुले जित निकाल्न नसक्ने भन्दै आलोचना हुँदा नेपाली टिमका कम्तान रोहित पौडेलले पहिलो खेलबाटै मूल्यांकन नगर्न र बाँकी खेल हेर्न चुनौति नै दिएका थिए । संयोगबश नेपालको दोस्रो खेल वर्षाका कारण स्थगित भएपछि श्रीलंकासँग एक एक अंक बाँड्न बाध्य भयो । विश्वकपका लागि अमेरिका पुगेको नेपाली टोलीमा समावेश नभएका क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिका लैजाने प्रयत्न क्यानले ग¥यो । तर आयोजक राष्ट्र अमेरिकाले नै लामिछानेलाई भिषा दिएन । अमेरिका जाने भिषा नपाएपछि क्यानले लामिछानेलाई नेपालको तेस्रो र चौंथो खेल हुने भनिएको राष्ट्र वेष्ट इण्डिज पुर्यायो ।

 

वेष्ट इण्डिजको किङ्सटाउनमा ओडीआई मान्यता राष्ट्र दक्षिण अफ्रिकासँगको तेस्रो खेलमा नेपालको प्रदर्शन उत्कृष्ट रहे पनि मात्र १ रनले नेपालले हार ब्यहोर्नु प¥यो । अन्तिम तीन ओभरमा सम्हालिन नसक्दा नेपालले नतिजा सुम्पिन बाध्य भएको थियो । दक्षिण अफ्रिकासँग हार ब्यहोरे पनि यो खेलमा नेपाली टिमको चर्चा भने विश्वभर नै भयो ।

 नेपालले सोमवार भएको बंगलादेशसँगको अन्तिम खेलमा पनि जितविहिन नतिजा निकाल्यो । १९ ओभर ३ बलमा बंगलादेशलाई अलआउट गर्दै १ सय ६ रनमा सीमित गराएको नेपालको ब्याटिङ राम्रोसँग नचल्दा २१ रनले पराजय ब्यहोर्नु प¥यो । तीन वटै खेलको बलिङ स्तरीय देखिए पनि ब्याटिङ चल्न नसक्दा दश वर्षपछि टी २० विश्वकपमा पुगेको नेपालले जितिविहिन भएको यात्रा टुंग्याएको छ । 

जारी विश्वकपमा जितविहिन हुँदा नेपालले सन् २०२६ को विश्वकपमा सोझै खेल्ने अवसर पनि गुमाएको छ । अब आगामी सन् २०२६ को विश्वकपका लागि विश्वकप छनोटका चुनौतिहरु पार गर्नुपर्ने भएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update