काठमाडौँ । अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् ।
सोमवार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद सचिवालयका महासचिव, सचिवहरु लगायतसँग कर्मचारीहरुको आन्दोलनको सम्बन्धमा छलफल गरेका थिए । छलफलका क्रममा सरोकारवाला सबैले कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीहरुका न्यायोचित मागलाई पूरा गर्नुपर्ने साझा निष्कर्ष रहेको बताए । उनले कर्मचारीहरुको मागलाई सम्बोधन गर्नका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्नुपर्ने भएकाले भोलि(मंगलवार) अर्थमन्त्रीसँग छलफल हुने जानकारी गराए । उनले संसद सचिवालयलाई आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्ज्युस्याइँ गर्न नहुने पनि बताए ।
प्रमुख सचेतक बर्तौलाले बजेट अभावलाई देखाउँदै संसदीय समिति बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाउने सम्मको घटना देखिएको भन्दै यस्तो हुनु दुःखद् भएको बताए । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजिओले खाजा खुवाउन ल्याएपछि गृहमन्त्री लगायत सांसदले बहिस्कार गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले बैठकमा कुनै ठोस सहमति हुन नसकेको बताए । उनले आफूहरुले पाउने सेवा, सुविधालाई समयानुकुल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने पनि बताए ।
‘उहाँहरुले अर्थ मन्त्रालयसँग समन्वय गरेर जानकारी गराउँछौ भन्नुभएको छ,’ उनले भने, कुनै ठोस सहमति पनि भएको छैन । हाम्रो आन्दोलनपनि फिर्ता भएको छैन । ५÷६ करोड भयो भने वर्ष दिनलाई पुग्छ । धेरै पैसा पनि छैन । हामी कति दिनसम्म श्रम शोषणमा रहने ? सेवा, सुविधालाई समयानुकुल बनाउनु प¥यो ।’