News 24 Television
रामहरिले भित्र्याए संसदमा एनजिओको खाजा, गृहमन्त्रीले गरे बहिस्कार 

काठमाडौँ । संसद देशकै सार्वभौम थलो र जनताका प्रतिनिधिले कानुन निर्माण गर्ने थलो हो । तर त्यही संसदको कानुन र नीति निर्माणबारे गम्भीर छलफल हुने संसदीय समितिमा गैरकानुनी रुपमा एनजिओको खाजा भित्र्याएपछि लफडा चलेको छ । कुनै स्वार्थ समूहका एजेन्डा नीति निर्माण घुसाउनका लागि यस्ता थुप्रै चलखेल हुने गरेका छन् ।

आइतबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तै दृश्य देखियो । एनजिओको खाजा समितिको बैठकमा देखिएपछि समितिका सदस्य सांसद र समति सभापति रामहरि खतिवडाबीच सवालजवाफ नै चलेको थियो । गृहमन्त्री रवि लामिछाने समेत उपस्थित उक्त बैठकमा सधैँभन्दा फरक दृश्य देखिएपछि सबैको चासो बढेको थियो । गृहमन्त्रीले समेत अनेक सोधिखोजी गरेपछि एनजिओका प्रतिनिधिले नै खाजा आफूहरुले व्यवस्था गरेको बताएका थिए । त्यसपछि गृहमन्त्री लामिछानेले संसदीय समितिमा खाजा किन छिराउनुभो त्यो बताउनुस् भनेपछि ती प्रतिनिधिले अन्यथा केही हैन भन्दै आलटाल जवाफ दिएका थिए । 

यसरी भीआईपी खाजा, डायरी र पाइलट पेन बाँड्न संसदीय समितिमै छिरेका ती प्रतिनिधि एलएक्सपिडी नामक गैरसरकारी संस्थाका रहेको बुझिएको छ । उक्त संस्थाले जनसंख्या र विकाससम्बन्धी काम गर्ने समितिका एक सदस्यले बताए । तर यसअघि कुनै पनि संसदीय समितिको बैठकमा यसरी एनजिओको खाजा ल्याइएको थाहा नभएको र नीति निर्माण गर्ने थलोमा यसरी महँगो खाजा प्रायोजन गरिनु राम्रो नभएको गृहमन्त्री लगायत अन्य सांसदहरुको समेत एकमत रह्यो । आइतबार बिहान ८ बजेका लागि बोलाइएको उक्त बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल गर्ने विषय थियो । तर खाजा लफडाले बैठक चल्नै सकेन ।

स्रोतका अनुसार बैठकमा छिर्नेबित्तिकै सबै सांसदलाई डायरी र पेन बाँडिएको थियो । टेबुलभरि काँटा–चम्चासहित खाजाका प्याकेट देखेपछि केही सांसद मख्ख परे भने केहीले गम्भीरतापूर्वक प्रश्न उठाए । कांग्रेस सांसदहरू हृदयराम थानी, ईश्वरी न्यौपाने, सरिता प्रसाई तथा रास्वपाका सांसद चन्दा कार्की लगायतले उक्त खाजाबारे प्रश्न उठाएका थिए । तर समिति सभापति समेत रहेका काँग्रेस सांसद रामहरि खतिवडाले उनीहरुका गम्भीर प्रश्न हाँसेर उडाइदिए । आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र कहिलेकाहीँ यसो चल्छ भन्दै उनले टारेका थिए । तर सांसदहरु त्यतिमै चुप बसेनन् । यसरी महँगो खाजा अर्डर गर्ने हो भने समितिको बजेटले धान्दैन, अन्य समितिहरुले पनि सिको गर्छन् भनेर सांसदहरुबीच तर्क–वितर्क चलेको थियो । पछि समितिका सचिव सुरज दुराले खाजा कसैले प्रायोजन गरेको बताएपछि एनिजिओको उक्त धन्दाको पोल खुलेको हो । 

गृहमन्त्री लामिछानेले राज्यको नीति बनाउने संसदीय समितिमा एनिजिओको खाजा सुहाउने कुरा भएन भनेर प्रतिवाद गरेका थिए । एनजीओको खाजा खाएर राज्यको विधेयकमाथि छलफल गर्ने कुरा राम्रो हुँदैन, यसले शंका बढायो भन्दै गृहमन्त्री बैठकबाट उठेर हिँडे । गृहमन्त्री नै हिँडेपछि अन्य सांसदले समेत यो काम ठीक भएन भन्दै सभापति खतिवडालाई भनेका थिए । त्यसपछि बैठक छलफलमा प्रवेश नै नगरी स्थगित गरियो । 

यसरी राज्यका नीति नियम बनाउने सार्वभौम थलोमा कुनै एनजिओका कर्मचारी खाजा बाँड्न उपस्थित हुनुले अनेक आशंका उब्जाएका छन् । आन्तरिक छलफलमा बाह्य प्रतिनिधि खाजा सहित छिर्नु अर्थपूर्ण र शंकास्पद थियो । यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने सांसदहरुको मत थियो । तर समिति सभापति खतिवडा भने यस विषयमा गम्भीर देखिएनन् । उनले कसको कुन स्वार्थका लागि यसरी संसदीय समितिमै खाजा झिकाए ? विनास्वार्थ सांसदलाई होटलमा बोलाएर छलफल गर्न र संसदमै खाजा पु¥याइदिन कुनै संस्थाले किन लगानी गर्छ र ? यस्ता प्रश्न स्वाभाविक उठेका छन् ।

उसै पनि नेपालका नीति निर्माताहरु बाह्य स्वार्थबाट प्रेरित हुने गरेको आरोप लाग्दै आएको छ । यसअघि पनि संसदमा यस्ता गैरसकारी संस्थाहरुको प्रभावमा परेर नीति नियम बनाउने प्रयास गरेको कुरा बाहिरिएको थियो । आइतबारको खाजाकाण्डले पनि समितिका सभापतिमाथि गम्भीर प्रश्न उठाएको छ । खतिवडा तिन सांसद हुन्, जो गृहमन्त्री रविमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरोध गर्नेमा अग्रणि थिए । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दा होस् या प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा होस्, खतिवडा बाटो छेक्न र संसदको रोस्टममै उक्लिन आक्रामक रुपमा देखिएका थिए । आज तिनै सांसदले संसदमा भने मन्त्रीहरुलाई उनीहरुको पद दाइजोमा ल्याएको हैन भनी संसदमा कुर्लिएका छन् । अरुमाथि प्रश्न उठाउने तिनै खतिवडाले संसदीय समितिमा एनजिओको खाजा कुन स्वार्थले भित्र्याए ? भन्ने प्रश्न उठेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update