News 24 Television
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा 

मुगु । मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 

मुगुको सोरु गाउँपालिका–८ कच्चे स्थानीय किसानले फाल्गुण महिनामा बेमौसमी सिमी लगाएका थिए । अहिले सिमी तयारी भएकाले निकाल्ने चटारोमा छन् किसान । यसअघि हिमाली जिल्ला मुगुमा खडेरीका कारण दलन बाली सुकेर किसानहरु हैरान भएका थिए । 

पछिल्लो समय पहिलो पटक लगाएको बेमौसमी सिमी खेति राम्रो हँुदा स्थानीय उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय गमगढी मुगुले यहाँका कृषकलाई बेमौसमी सिमी खेती गर्न तालिम प्रदान गरेको थियो । परियोजनाको सिकाइपछि रोपिएको बेमौसमी सिमीको राम्रो उत्पादन भएपछि मुगुको कच्चे गाउँका स्थानीय दंग छन् । 

विगत वर्षहरुमा असारमा लगाइएको सिमि, मास तथा अन्य गेडागुडी कार्तिकमा टिप्नका लागि तयार हुने गर्दथ्यो । वर्षमा एक चोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल ५ महिना मात्र पुग्थ्यो ।

वैशाख, जेठ, असार महिनामा के तरकारी खाने भन्न्ो चिन्ता हुन्थ्यो । तर बेमौसमी सिमी उत्पादनले तरकारी समस्या समाधान मात्र नभई आम्दानी हुने विश्वास किसानहरुको छ ।   

परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा कच्चे जिउलाको ४ हेक्टर जमिनमा कच्चे गाउँका ८० घरधुरी किसानले सिमि खेती गरेका छन । किसानले विक्री गर्न चाहेको ती उत्पादित तरकारीहरु बजारसम्म लैजान कार्यालयले ढुवानी अनुदान दिने जनाएको छ । वेमौसमी सिमी राम्रो उत्पादन भएपछि विशेष गरी गृहिणीलाई कार्यबोझ र चिन्ता घटेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update