
काठमाडौँ । बृहस्पति विद्यासदनको कक्षा १२ को दीक्षान्त समारोह सम्पन्न भएको छ। तारागाउँस्थित हायात रिजेन्सी होटलमा एक समारोहको आयोजना गरी विद्यासदनले कक्षा १२ का करिब २ सय विद्यार्थीलाई दीक्षित गरेको हो । साथै विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थी तथा शिक्षकलाई सम्मानसमेत गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष महिला उद्यमी भवानी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस समारोहमा विद्यालयका प्रिन्सिपल कुमार थापा तथा कार्यक्रम निर्देशक मिलन विष्टले विद्यार्थीलाई प्रमाणपत्र तथा चिनो प्रदान गरेका थिए। साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि राणाद्वारा सम्मानित गरिएको थियो।
विज्ञान समूहबाट उत्कृष्ट विद्यार्थीका रूपमा स्मृति कोइराला र व्यवस्थापन समूहबाट प्रणव श्रेष्ठलाई प्रमुख अतिथिले प्रमाणपत्र, दश दश हजार नगद तथा पदक प्रदान गरेका थिए। यसको प्रायोजन एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले गरेको हो। उनीहरूलाई विद्यालयले पठनपाठनलगायत समग्रताको अध्ययन गरेर सम्मानित गर्ने निर्णय गरेको थियो। साथै खेलकुदलगायतका अन्य अतिरिक्त क्रियाकलापमा पनि विभिन्न विद्यार्थीलाई सम्मान प्रदान गरिएको थियो। सामना गुरुङले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी सम्मान, कृष्णवाला श्रेष्ठले स्कूल क्लब नेतृत्वमा उत्कृष्टताको सम्मान, एन्जल विष्टले स्वयंसेवकको रूपमा उत्कृष्ट विद्यार्थी सम्मान, प्रणव श्रेष्ठले शैक्षिक उत्कृष्टतामा सम्मान प्राप्त गरे । यसैगरी पठनपाठनका क्रममा उत्कृष्ट प्रस्तुति गर्ने शिक्षक दीपसागर पन्त, अनिल सापकोटा र सन्दीप बराललाई पनि पदकसहित सम्मानित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि भवानी राणाले विद्यार्थीलाई अत्यन्तै जीवनोपयोगी सुझाव दिइन्। आफ्नो स्कुले जीवनका अनुभव सुनाउँदै उनले यस्तो अनुभवको जीवनमा ठूलो अर्थ हुने बताइन्। प्राप्त शिक्षाले हाम्रो जीवनलाई सफलताको मार्गमा डोर्याउन र जीवनलाई परिष्कार गर्न मदत पुग्ने विचार व्यक्त गरिन्। राम्रो र नराम्रो, सही र गलत छुट्याउने विवेक प्रदान गर्नुका साथै जीवनमा हरेक निर्णय गर्न आत्मविश्वास बढाउने पनि उनको भनाइ थियो। यस्तो गरिमामय संस्थाबाट दीक्षित हुन पाउनु गर्वको कुरा भएको बताउँदै आफूले पनि देश विदेशमा पढ्दा र काम गर्दाका अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरिन्।
विद्यालयका प्रिन्सिपल कुमार थापाले पनि बृहस्पतिका शैक्षिक मूल्यमान्यतामाथि प्रकाश पार्दै विद्यार्थीलाई उपयोगी सुझाव दिए। उनले पठनपाठनको क्रममा होस् या जीवनका अन्य सन्दर्भमा होस् हामीले विचारशीलता, प्रसन्नता र आफ्नो कार्य तथा एकअर्काप्रति सम्मानजनक भाव राख्न सक्यौँ भने हाम्रो पठनपाठन तथा जीवनको उद्देश्य सार्थक हुने धारणा राखे। उनले स्वयम् जिम्मेवारीबोध गरेर आफूलाई स्वसञ्चालन गर्न तथा जिम्मेवारी र स्वतन्त्रतालाई सन्तुलित किसिमले अगाडि बढाउन सक्नुपर्ने विचार राखे।
विद्यार्थीका तर्फबाट विज्ञान समूहका छात्र समृद्ध रोका र व्यवस्थापन समूहकी छात्रा समृद्धि श्रेष्ठले आफ्नो मन्तव्य राखेका थिए। मन्तव्य राख्ने क्रममा रोकाले आफूले बृहस्पतिमा अध्ययन गर्दा अत्यन्तै हार्दिक वातावरण प्राप्त गरेको र अध्ययनसँगै विभिन्न ज्ञान, अनुभव तथा अतिरिक्त सिकाइ गर्ने मौका पनि पाएको बताए। शिक्षकहरुको मिहिनेत, हौसला र सहयोगले आफूलाई ठूलो मदत पुगेको बताए। त्यसैगरी समृद्धि श्रेष्ठले पनि अनुभव र सिकाइ सुनाउँदै दुई वर्षको अवधि अत्यन्तै अविस्मरणीय रहेको बताइन्। व्यक्तित्व विकासका निम्ति पढाइसँगै भएका विभिन्न अतिरिक्त क्रियाकलापले आफूले जीवनोपयोगी सिप आर्जन गर्नुका साथै नयाँ अनुभव प्राप्त गरेको बताइन्।
समारोहका बीच अतिथि तथा अध्यापकहरूलाई प्लस टु कार्यक्रम इन्चार्ज सुरेश काफ्लेले मायाको चिनो प्रदान गरेका थिए। बृहस्पति विद्यासदनकै पूर्व विद्यार्थी प्रस्तुति भट्टराईले सञ्चालन गरेको यस कार्यक्रमलाई प्लस टु इन्चार्ज सुरेश काफ्लेले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए।
४० वर्षअघि स्थापना भएको यस विद्यालयले कक्षा १ देखि १२ सम्म पठनपाठन गराउँदै आएको छ। प्लस टु तहमा विज्ञान तथा व्यवस्थापन विषयको पढाइ सञ्चालन भइरहेको छ।