News 24 Television
मुख्य दलहरुमाझ बालेनको चर्चा : एमाले खेदो खन्ने, रुझाउँने रणनीतिमा काँग्रेस

काठमाडौं । स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालन शाह जनप्रतिनिधहरुमध्ये नै फरक पहिचानमा छन् । काम गर्ने शैली र तार्किक अभिव्यक्तिका कारण पनि उनको फरक पहिचान बनिरहेको हो । 

राजनीतिमा मौलाएको विकृतिले आम नागरिकमा निराशा छाइरहेका बेला दलहरुलाई नै भारी परेका बालेनप्रति धेरैको आशा र समर्थन छ । बालेनको अभिव्यक्ति शैली, नागरिक सेवा तथा विकासको अवधारणप्रति पनि जनता आकर्षित छन् । तर बालेनको गतिविधि, योजना र कार्यप्रति मुलुकका मुख्य राजनीतिक दलहरु भने बेखुस बनिरहेका छन् ।  

स्थानीय तहको निर्वाचनमा ठूला–ठूला दल र विभिन्न गठबन्धनलाई नै पराजति गरेर बालेन मेयरमा निर्वाचित भए । नेतृत्वमा अएदेखि नै बालेनले सडक पूर्वाधार, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको सुधारका अभियान चलाइरहेका छन् । तर दलहरुले भने उनको कामको आलोचना र अवरोध गर्ने गरेका छन् । सुकुम्बासी बस्ति खाली गर्नेदेखि न्यूरोडका सडकमा फुटपाथ बढाउने योजनासम्म आइपुगदा पनि बालेनले राजनीतिक दलको अवरोध खेपिरहेका छन् । 

न्यूरोडको सडकको आकार घटाएर फुटपाथ बढाउने विषयमा अवरोध र विवाद हुँदा बालेनले सडक विभाग र सरकारमाथि नै आक्रोश पोख्दै रवाफिलो व्यवहार देखाए । यही आवेगमा मेयर बालेनले भौतिक पूर्वाधार मन्त्रीदेखि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समेतलाई तारो बनाए । सो बेला सडक विभाग कार्यालयसामु फोहोर खन्याइदिए भने गिरीबन्धु टि–स्टेटको जग्गामा करोडौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई जेल जान तयार रहनु भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिए । 

बालेनको यो अभिव्यक्ति नेकपा एमालेलाई पटक्कै मन परेन । र, एमालेले बालेनलाई अराजक र अराजनीतिक व्यक्तिको संज्ञा दिन थालिसकेको छ । बालेनलाई असम्यम् र असभ्यताको उपमा दिइरहको एमालेले निर्वाचित हुने वित्तिकै तबला दिएको विषय पनि कोट्याउन थालेको छ । 

मेयर बालेन र एमालेबीचको वेमेल अहिले मात्रै होइन । धरहारा निर्माणलाई सेतो टावरको संज्ञा दिएर ओलीलाई काउन्टर दिएदेखि नै एमाले र बालेनबीच बैमनश्यता पैदा भएको थियो । नेतृत्वमा आएदेखि आधुनिक विकासलाई मौलिकता र सभ्यतासँग जोड्ने प्रयास गर्ने बालेनलाई एमालेले भने त्यति रुचाएको छैन । 

एमाले अध्यक्ष ओलीले फोहोर, सडक र शहर व्यवस्थापनका क्रममा बालेनले चालेका कुनै पनि कदमलाई मन पराएका छैनन् । सुकुम्बासी बस्ती हटाउने अपनाएको शैलीलाई ओलीले अझै आलोचना गर्ने गरेका छन् । 

सभ्यता पुनरस्थापित गर्न मेयर बालेनले टुकुचा खोलामाथि बनेको संरचना हटाउने देखि विद्यायलयको पूर्वाधार पर्याप्त बनाउन भाडामा दिइएका सटरहरु खाली गर्न पहल गरिरहेका छन् । तर बालेनको यी दुवै कदम सर्वोच्चले रोकिदिएको छ । पछिल्लो सयम संसदमा र सडकमै भिडिरेका काँग्रेस र एमालेले पनि बालेनलाई फरक फरक नजरले हेरिरहेका छन् ।  बालेनलाई काँग्रेसको समर्थन छ भने एमालेले विरोध गरिरहेको छ । 

काँग्रेसका सांसदहरुले संसदमै उभिएर बालेनलाई काम गर्न दिनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् । केहीले बालेनजस्ता युवालाई काम गर्न दिनुपर्ने बताउँदै आइरहेका छन् । 

यसको केही दिनपछि नै काँग्रेसकै सांसद प्रदिप पौडेलले मेयर बालेनसँग भेटवार्ता गरेका छन् । सांसद पौडेलले बालेनलाई भेटेर चक्रपथ निर्माणका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए । यसअघि सडक विभागसँगको विवाद हुँदा मेयर बालेनले चक्रपथ निर्माणमा ढिलाई भएकोप्रति केन्द्र सरकारसँग आक्रोश पोखेका थिए । 

स्वतन्त्रबाट निर्वाचित मेयर शाह केही फरक र पृथक काम गर्ने मुडमा छन् । उनले यस पटकको नीति तथा कार्यक्रममा पनि सम्पदा संरक्षण र सेवालाई जोड दिएका छन् । यसरी काठमाडौं महानगरका मेयर बालेन जिम्मेवारीमा आएपछि कुनै न कुनै तवरले जनमुखी काम गर्ने लक्ष्यमा छन् । तर उनलाई विभिन्न दलहरुले लगातार अवरोध सृजन गर्ने गरेको देखिन्छ । यही कारण बालेन मुलधारको राजनीतिमा पनि चर्चाको मुख्य केन्द्र बनिरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update