News 24 Television
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या

सर्लाही । पूर्वी पहाडमा मनसुन सुरु भई बाढिपहिरोल वितण्डा मच्चाउन थालिसकेको छ । तर देशका अन्य क्षेत्रमा भने अत्याधिक गर्मीको कारण जनजीवन अस्तव्यस्त भइरहेको छ । 

केही दिनयता अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि सर्लाहीको जनजीवन कस्टकर भैरहेको छ । अत्याधिक गर्मीको कारण दैनिक श्रम गरेर खानु पर्नेहरु निकै मारमा परेका छन् । 

सर्लाही सहित देश भर विगत केहिदिन देखि अत्यधिक गर्मी बढेको छ । बिहान घाम झुल्केदेखी नै तातो हावा चलेका कारण जनजीवन प्रभावित भएको हो । दिउँसो पश्चिमा तातो हावाले घरबाहिर अनुहार पोल्ने भएकोले सर्वसाधारण दिउँसो घरबाट बाहिर निस्कन पनि डराउन थालेका छन् । 

बाहिर हिँड्दा चर्को घाम र घरभित्रै बस्दा घर तातेर बस्न सक्ने अवस्था छैन । गर्मीले मानिस असिनपसिन भएर बसेका छन् । दिउँसो सार्वजनिक यातायातहरू ई–रिक्सा, बस तथा म्याजिक जिपमा यात्रा गर्नेको संख्या ह्वात्तै घट्दा यसैलाई व्यवसाय बनाएकाहरु आर्थिकरुपमा संकटमा पुगेका छन् । यो वर्ष जमिन भिज्ने गरी वर्षानै हुन नसकेकाले असाध्यै गर्मी महसुस भइरहेको सर्वसाधारण बताउँछन् 

गर्मीका कारण धेरै मानिसहरु विरामी पर्नसक्ने भन्दै चिकित्सकले प्रशस्त पानी पिउन र तातो हावा चलेको र चर्को घाम लागेका बेला बिरामी, ज्येष्ठ नागरिक तथा बालबालिका र सुत्केरीलाई सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । 

गर्मीकै कारण सर्वसाधारण बाहिर ननिस्कँदा बजार समेत सूनसान बनेको छ । उखरमाउलो गर्मीमा साधारण चिसो पेय पदार्थको व्यापार राम्रो भएपनि अन्य व्यापाार व्यवसाय भने निकै खस्किएको छ ।  

तराई मधेशमा पछिल्ला वर्षहरूमा बढ्दो वन विनाश र बिभिन्न किसीमका  खानी उत्खननले गर्दा धेरै स्थानमा खानेपानीका स्रोत चाँडो सुक्न थालेको विज्ञहरुले बताएका छन् ।

      सर्लाहीको उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरु भालुखोप केरावारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोला खैरा लगायत सर्लाही जिल्लाका बिभीन्न क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भएपनि त्यो समस्या समाधान गर्न स्थानिय सरकारले चासो नदेखाउँदा सयौँ बस्तीमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update