News 24 Television
चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग

भैरहवा । चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपाल भ्रमणका क्रममा मन्त्री चेन रुइफेंङले बुधबार लुम्बिनीको भ्रमण गरेका हुन् । 

मन्त्री चेन रुइफेंङ सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले भव्य रुपमा स्वागत गरेका थिए ।  भ्रमणका क्रममा मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको पनि अवलोकन गरेका थिए ।

कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि तत्काल पहल गर्न चिनियाँ मन्त्रीलई आग्रह गरे । 

उनले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका थिए । चिनियाँ मन्त्रीले जवाफमा लुम्बिनीको पर्यटन विकासका लागि चीन सँधै सहयोग गर्न तयार रहरको बताए ।  

मन्त्रीलाई ध्यानाकर्षण

लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको थियो  ।

सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो । 

चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको  सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।

“नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवरर््नसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ”, भने, “हामी चीनसँग नेपालको पुरानो सम्बन्ध रहेकाले लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधैँ आतुर छौँ । चीनले हवाई सेवा सुरु गरे त्यो सपना साकार हुन्थ्यो भन्ने विषयमा ध्यानाकर्षण गराएका हौँ । चिनियाँ मन्त्रीबाट पनि सकारात्मक जवाफ पाएका छौँ ।” 

लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट नेपाल र चीनको पर्यटकीय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने श्रेष्ठले बताए ।

त्यसअवसरमा  मन्त्री रुइफेंङले चीनबाट नियमित उडान भर्ने विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाए । उनीहरुले  आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले चाँडै उडान हुने विश्वास व्यक्त गरेका थिए । 

“उनले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको बताएका थिए । हवाई सेवाका विषयमा पनि चीन सरकार सकारात्मक रहेको र तयारीमा जुटेको भन्ने जानकारी पाएपछि हामी उत्साहित भएका छौँ”, श्रेष्ठले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update