झापा । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार सञ्चालन भएको मेचीनगर आइडिया हन्टमा मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापतिलगायत पदाधिकारी, विभिन्न राजनीतिक दलसंग संम्बद्ध विद्यार्थी संगठनका प्रतिनिधि तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको छ ।
स्थानीय तह अन्तर्गत नेपालमा नै पहिलो पटक मेचीनगरमा आयोजित प्रथम मेचीनगर आइडिया हन्ट कार्यक्रमले सहभागि सबैको भविष्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने नगरप्रमुख गोपालचन्द्रबुढाथोकी बताउँछन् । उनले स्थानीय सरकार युवा प्रति संवेदनशील रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मानिसहरू अरूसँग तुलना गरेर अनावश्यकमा निराश हुने गरेको बताए ।
यसले भविष्य झन कमजोर हुने बताउँदै उनले समय महत्त्वपूर्ण रहेको र मानिसले आफ्नो उर्जावान समय चिनेर अगाडि बढ्न आवश्यक रहेको बताए । नहिडी गन्तव्य पुगिदैन त्यसैले आफ्नो लक्ष्य प्राप्तिका लागि अनवरत लागि परिरहनु पर्ने उनले बताए ।
त्यस्तै वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नेपालमा नै पहिलोपटक स्थानीय तहले विद्यार्थीहरूलाई आइडिया ल्याउ त्यस बापत लगानी नगरपालिकाले गर्दिनेछ भनेर नँया कार्यक्रम अगाडी सारेको बताए ।
उनले आइडिया ल्याए वापत प्रतिव्यक्ति १० हजार पहिलो चरणमा तथा अन्मिमा जम्मा ५० हजार उपलब्ध गराउने छ । त्यस्तै समुहमा आउनेलाई पहिलो चरणमा ५० हजार र बाकीँ अन्तिममा जम्मा २ लाख ५० हजार उपलब्ध गराउने तयारी रहेको जनाए ।
काँकरभिट्टा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागिहरुलाई विषय विज्ञ विकास कोईराला र विमल राजवंशीले सहजीकरण गरेको मेचीनगर युवा परिषद् अध्यक्ष कृष्ण काफ्लेले जानकारी दिए ।