काठमाडौं । नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा टीकटक एपमा प्रतिबन्ध लगायो ।
चिनियाँ कम्पनी टीकटकले प्रतिबन्ध खोल्न आग्रह गर्दै नेपाल सरकारलाई सातौ पटकसम्म पत्र पठाइसकेको छ । अझै प्रतिबन्धित अवस्थामै रहेको टीकटकप्रति पछिल्लो समय सरकार केही लचिलो बनेको संकेत देखिएको छ ।
नेपालीमाझ निकै लोकप्रिय बनेको सामाजिक सञ्जाल टिकटक अहिले नेपालमा बन्द छ । टिकटकका कारण नेपालमा सामाजिक सद्भाव र वातावरणमा खलल पुगेको भन्दै सरकारले गत नोभेम्बर दोस्रोदेखि प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धित अवस्थामा रहेको टिकटक अहिले नेपालमा सोझै चलाउन मिल्दैन । तर भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनका माध्यमबाट नेपालमा टीकटक चलाउनेहरुको संख्या प्रशस्तै छ ।
त्यसैले औपचारिकरुपमा र इन्टरनेट प्रदायक कम्पनीहरुमा टिकटक नचलेपनि भीपीएनमार्फत टिकटक चलाउनेको संख्या करिबकरिब प्रतिबन्ध अघिकै जस्तो छ ।
सरकारले प्रतिबन्ध लगाए भनेर नाक फुलाउनुको खासै तुक नरहेपनि टिकटक कम्पनी नेपालमा भइरहेको प्रतिबन्ध हटाएर आफ्नो एपलाई वैधानिक बनाउन चाहन्छ । सोही कारण नेपालमा लगाइएको प्रतिबन्ध खोल्न आग्रह गर्दै टिकटकको माउ कम्पनी बाइटड्यान्सले नेपाल सरकारलाई सातौँ पटकसम्म पत्र लेखिसकेको छ ।
टिकटकको सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने दक्षिण एशिया प्रमुख फिरदौस मोत्तकिनले गत मे १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सम्बोधन गरेर पत्र लेखेका थिए । टिकटकले पठाएको पछिल्लो पत्रमा छ पटक पत्र पठाउँदा समेत नेपाल सरकारले जबाफ नदिएको गुनासो गरिएको छ ।
टिकटकले आफ्नो एपमाथि लागेको प्रतिबन्ध खोल्न नेपालीबाटै पनि हरेक दिन भइरहेका मागबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । तर नेपाल सरकारले राखेका केही सर्तहरुमा कम्पनीले प्रतिबद्धता नजनाएकाले पनि ठोस जबाफ दिन नसकेकाल कारण प्रतिबन्ध खोल्ने प्रक्रिया अघि नबढेको हो । तर विहिवार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माको अभिव्यक्ति सुन्दा भने सरकार टीकटकप्रति लचिलो भएको अनुमान लगाउन सकिन्छ ।
बिहीवार संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए टिकटक लगायतका जुनसुकै सामाजिक सञ्जालसँग सरकारलाई आपत्ति नभएको बताएकी छन् ।
मन्त्री शर्माले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामाग्रीहरु उत्पादन र प्रशारण भएका कारण नेपालमा टिकटक बन्द गरेको सरकारको दाबीलाई पुनः दोहो¥याकी छन् ।
सामाजिक सञ्जाल समाज अनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको उनको टिप्पणी छ । उनले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा यसबारे व्यापक छलफल हुने विश्वास व्यक्त गरेकी छन् ।
टीकटक प्रतिबन्ध र यथार्थ
सामाजिक सद्भावमा खलल पु¥याएको भन्दै टीकटकमा प्रतिबन्ध लगाइएको भन्ने सरकारको तर्कमा दम छैन । टीकटकमा आउने जस्तै भिडियो वा कन्टेन्टहरु आउने अन्य सामाजिक सञ्जालहरु अहिले पनि नेपालमा छ्यापछ्याप्ती छन् ।
टिकटककै शैलीको भिडियोहरु युट्युव सर्ट्स र फेसबुक÷इन्स्टाग्राममा रिलमार्फत हेर्न पाइन्छ ।
टिकटिकमा आउने जुन भिडियोहरुलाई सरकारले अवैध देखेको थियो त्यस्ता भिडियोहरु युट्युव तथा फेसबुकहरुमा अपलोड भइरहेकै छन् । त्यसैले सामाजिक सद्भावमा खलल पु¥याएका कारण प्रतिबन्ध लगाइएको भन्ने सरकारको तर्क सितिमिति कसैले पत्याउँदैन ।