News 24 Television
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’

काठमाडौं । सत्ताको समीकरण फेरबदल हुँदा नेपाली काँग्रेस अहिले प्रतिपक्षी कित्तामा छ । अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस सत्ताको सबैभन्दा ठूलो दलसहति सरकारमा थियो । तर फागुन २१ पछि भने नेकपा एमालेसहितको नयाँ सरकार कायम भयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई ‘आउट’ गरेर नयाँ समीकरण बनाएपछि चिँढिएको काँग्रेसले वैकल्पिक गठबन्धन बनाएर कुनैपनि हालतमा सरकार ढाल्ने रणनीति बुनेको थियो । तर सरकार बनाउने नेपाली काँग्रेसको बदलापूर्ण योजना अहिलेसम्म आइपुग्दा विफल भइसकेको छ । 

नेपाली काँग्रेसले वर्तमान सरकारलाई विस्थापित गर्न विभिन्न रणनीति चालेको थियो । काँग्रेसले सत्ता साझेदार दलहरुका नेताहरुमाथि राजीनामा दिनुपर्नेसम्मका गम्भीर आरोपदेखि विभिन्न दलका नेताहरुलाई प्रधानमन्त्रीको कार्डसम्म फालेको थियो । 

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसहित सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधव नेपाललाई पनि काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । तर पर्याप्त आधार नदेखेका रवि र माधवले काँग्रेसको प्रस्तावलाई स्वीकार गरेनन् । 

सत्तामा सामेल दलहरुलाई नै आफ्नो कित्तामा तानेर वैकल्पिक गठबन्धन बनाउन खोजेको काँग्रेसले सुरुदेखि नै असफलता व्यहारोर्दै आयो । वैकल्पिक गठबन्धनका लागि अन्तिमसम्म प्रयास गरेपनि असफल भइराख्दा काँग्रेसले गृहमन्त्री रविमाथि शहकारी ठगी प्रकरणलाई जोडेर लामै सयम संसद पनि अवरोध गरेको थियो । 

यो विषय अहिले संसदीय छानविन समिति गठनसम्म आइपुगेर रोकिएको छ । यसपछि पनि काँग्रेसले सत्तारुढ दलहरुलाई हातमा लिने प्रयास गरेको थियो । 

जसमा मुख्य हतियारको रुपमा नेकपा एकीकृत समाजवादी र जसपालाई बनाएको थियो । सत्ता गठबन्धनसँग असन्तुष्ट रहेका बेला उनीहरुलाई हातमा लिएर नयाँ सरकार निर्माण गर्ने काँग्रेसको दाउ थियो । तर काँग्रेस यो योजनामा पनि सफल भएन । 

यही विषयले जसपा विभाजति हुन पुग्यो भने नेकपा एकीकृत समाजवादी काँग्रेसको योजनालाई साथ दिने विषयबाट ‘व्याक’ भयो । 

नेकपा एसका अध्यक्ष माधव नेपालले काँग्रेसलाई पछि सम्म नै सहयोग गरेपनि अन्तिममा भने वर्तमान सत्ता गठबन्धनतिरै फर्किए । 

गठबनधनमै रहेपनि माधवले एक समय केन्द्रदेखि प्रदेश सरकारसम्म नै काँग्रेससँग सहकार्य चाहेका थिए । 

यसै आडमा बार्गेनिङ गरेका माधवले सुदुरपश्चिममा आफ्नो दलबाट दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सफल भए । तर जसपा विभाजन र अन्य विविध राजनीति घटनाक्रमले उनलाई काँग्रेससँग साँठगाँठ गरिरहन अनुकुलन भएन । 

फलत ः मधेश प्रदेशमा नयाँ सरकार गठन हुँदासम्म माधव सत्ता गठबन्धनसँगै सहकार्यमा जोडिन बाध्य बने । यी विविध रणनीति बुनेर वैकल्पिक सरकार बनाउने प्रयास गरेको काँग्रेस पछिल्लो समय आएर भने हार खाएको छ । योसँगै काँग्रेस अब सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने काँग्रेसकै नेताहरुले बताउन थालेका छन् । विविध प्रयास असफल भएपछि वैकल्पिक गठबन्धनको रेशबाट अब काँग्रेस पाखा लाग्ने भएको हो ।  

पछिल्लो केही दिनभित्रै काँग्रेसका नेताहरुले आफूहरु सत्ताका लागि मरिमेट नगर्ने मुडमा पुगेका छन् । काँग्रेस अब बलियो प्रतिपक्षीका रुपमा उभिने निचोडमा पुगसकेको उनीहरु बताउन थालिसकेका छन् । 

सुरुवाती दिनहरुमा काँग्रेसले वर्तमान सरकारलाई विस्थापित गर्न सकेसम्मकै प्रयास गरेको थियो । तर सत्तापक्षको रणनीतिसँग पराजित भएको काँग्रेस अब सरकारको नेतृत्व खोज्दै नजाने तर परिआएको अवस्थामा सत्तामा जाने अन्तिम निश्कर्षमा पुगेको हो । 

अघिल्लो सरकारबाट बाहिर्याएकोे बदलामा वैकल्पिक गठबन्धन गरेर बदला लिने काँग्रेसको योजनालाई प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले तत्कालका लागि निस्तेज पारिदिएका छन् । फलतः काँग्रेस सरकार बनाउने र गिराउने खेलबाट टाढिन बाध्य भएको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update