News 24 Television
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ?

काठमाडौं । संसद जनननिर्वाचित प्रतिनिधिहरुको सभाकक्ष हो । र, संसदमा कानून निर्माण, संशोधनदेखि जनताका मसिना समस्याहरुको पनि समाधान खोजिन्छ । 

त्यसैले यसको मर्यादा र महत्व विशेष रहन्छ । तर पछिल्ला दिनहरुमा संसदमा केही अनौठा र फरक दृष्य देखिइरहेका छन् ।

खासगरी प्रतिपक्षीदलका सांसदहरुले सभामुखमाथि प्रश्न गर्न अपनाएका शैली तथा सवाल जवाफले संसदमा अस्वभाविक दृष्य देखिइरहेका हुन् । 

प्रतिनिधिसभा नियमावली अनुसार संसदमा कुनैपनि विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने नियमप्रति प्रतिपक्षी कठोर बन्दा संसदमा सांसद र सभामुखबीच नै दोहोरी चल्ने गरेको हो । 

जसलाई आमनागरिकहरुले अस्वभाविक भन्न थालिसकेका छन् । मुख्यतः पछिल्लो समय बदलिएको सत्ता समीकरणपछि बसेका संसद बैठकहरुमा यस्ता गतिविधि बाक्लै देखिँदै आएका छन । 

गएको चैत ७ मा बसेको प्रतिनिधिसभा बैठकमा समय पाएका नेपाली काँग्रेस सांसद रामहरी खतिवडाले अर्थमन्त्रीको उपस्थितिविना नबोल्ने अडान लिए । 

प्रतिनिधिसभा नियमावली नै स्मरण गराउँदै मन्त्री उपस्थित नभएको बैठकमा आफू नबोल्ने अडान लिएका उनले सभामुखसँगै सवाल जवाफ गरेका थिए । 

उक्त समय अर्थमन्त्री राष्ट्रियसभामा गएकोले उपस्थित हुन नसकेको तर केही समयपछि आउने भन्दा पनि सांसद खतिवडाले सभामुखसँग ठट्टा गर्दै लामै समय खर्चिए । 

यस्तै क्रियाकलाप संसदको पछिल्लो बैठकहरुमा पनि दोहोरिइरहेको छ । यही जेठ २२ गते राजस्व र व्यायको अनुमानमाथि संसदमा भएको छलफलका क्रममा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजे । यदी मन्त्री नआएको अवस्थामा संसदमै उभिरहने चेतावनी दिएका लिङ्देनको पनि सभामुखसँग लामै दोहोरी चल्यो ।  

लिङ्देन र सभामुखबीच सवाल जवाफ भएपछि नेकपा एमाले सांसद दयालबहादुर शाहीले उठेर आपत्ति जनाए । उनले संसदलाई दोहोरी हो की ? सदन हो ? भन्दै प्रश्न गरेका थिए । बोल्ने समय पाएका सदस्यहरुले आफ्नो भनाइ सरासर राख्नुपर्ने तर केहीले अनेकौँ तर्क गरेर सदनको मर्यादामा नै  आँच ल्याएको उनको टिप्पणी थियो ।  

तर एमाले सांसद शाहीको भनाइप्रति आपत्ति जनाउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रतिजवाफमा उत्रिए । एक राष्ट्रिय दलको संसदीय दलको नेता संसदमा बजेटमाथिको छलफलमा बोल्दै गर्दा मन्त्री खोज्नु दोहोरी नभएको भन्दै अन्य सांसदहरुलाई नियमावली पढेर आउन शाहीको आग्रह थियो । 

यो घटनापछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गर्नुपरेको थियो । अहिले पनि संसदमा विनियाजित बजेटमाथिको छलफल जारी छ । 

मंगलबारको बैठकमा विभिन्न मन्त्रालयगत शिर्षकमा छलफल गर्ने कार्यसूची थियो । तर त्यसमध्ये खेलकुदमन्त्री उपस्थित थिएनन् । यो विषयमा पनि प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनायो । 

मंगलबारको संसद बैठकमा पनि मन्त्रीको उपस्थिति विनै छलफल गर्ने विषयलाई काँग्रेसले अस्वीकार गरेपछि सभामुखले उक्त कार्यसूचीलाई हटाएका थिए । त्यसपछि मात्रै संसद निर्वाद रुपमा संचालन भएको थियो । 

यसरी सरकार र संसद सचिवालयको कमजोरीका कारण मन्त्री उपस्थित नहुनु र त्यही विषयमा सांसदहरुले पनि मर्यादा नाघेर सभामुखमाथि सवाल जवाफ गर्नुले संसदको महत्वपूर्ण समय खेरा जाने गरेको छ । र, संसदमै अस्वभाविक दृष्य देखिने गरेको छ । 

यी परिदृष्यहरुले नेपालमा संसदको अनुशासन र प्रभावकारितामाथि समेत गम्भीर प्रश्न चिन्ह खडा भइरहेको टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update