मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा यहीँ वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको हो ।
बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत उल्लेख्य खेलाडीहरू सहभागी गराउन सफल बनिसकेको छ ।
२०५२ सालमा स्थापना भएपश्चात निरन्तर नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धीलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको क्लबले दोस्रो पटक यस प्रिमियर लिग आयोजना गर्न लागेको जनाएको छ ।
मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा जेठ ४ गतेसम्म सञ्चालन हुने लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।
उनले खेलाडीहरुलाई व्यवसायी बनाउँदै समग्र क्रिकेट क्षेत्रको विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ लिगको आयोजना गरिएकाले बताए ।
प्रतियोगिता सम्बन्धि जानकारी दिन आज आयोजित संक्षिप्त पत्रकार सम्मेलन मार्फत उनले प्रतियोगितामा एन. एस वारियर, एल. आर. हन्टर्स र एस। के। सुपरकिङ्सले प्रतिष्पर्धा गर्ने निश्चित भएको जानकारी दिए ।
३ लाख १५ हजार रकम खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समेत समान ५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा एक जनाले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचको व्यवस्था गरिएको छ ।
म्यान अफ द म्याच घोषित हुने खेलाडीले एक हजार ५ सय नगद प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा मिलन क्रिकेट क्लबका अध्यक्ष श्रेष्ठसंगै एन। एस वारियरकी टिम क्याप्टेन निशा शाह, एस. के सुपरकिङ्सकी टिम क्याप्टेन स्मृती कट्वाललगायत सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।