News 24 Television
पहिरोमा पुरिएर एकको मृत्यु, सडक क्षतिग्रस्त 

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको  चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । 

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको  तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

वर्षासँगै आएको पहिरोले कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको ठूलोढुङ्गा–अरुणथानमा चार किलोमिटर सडक क्षतिग्रस्त समेत भएको छ ।

sadak-(5)-1718169766.jpg
 

यो खण्डमा कालोपत्रका लागि गरिएको सबबेस, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । 
 
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए ।  वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update