News 24 Television
देवेन्द्र पौडेल मन्त्री सुमनाको विरुद्धमा, अमरेश समर्थनमा

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिबाट टाढा गराउने भन्दै कारबाही गर्ने चेतावनीसहित काम गरिरहेकी छन् । सम्बन्धित निकायबाट सुमनाले शिक्षकबारे विवरण मागिरहेकाबेला माओवादी केन्द्रका सांसद समेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले भने शिक्षकको डीएनए परीक्षण गर्न नहुने भन्दै छुट्टै सुझाव दिएका छन् । 

शिक्षकले राजनीति गर्दा शैक्षिक गुणस्तर कायम गर्न नसकिएको गुनासो व्याप्त छ । शिक्षकहरु राजनीतिक दलमा सक्रिय कार्यकर्ता बन्ने र उनीहरुले विद्यालयभन्दा दलका कार्यालयमा बढि समय दिने गरेको गुनासोपछि शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलमा आबद्धताविहीन बनाउने घोषणा गरेअनुसार कारबाहि गर्ने प्रक्रिया अघि बढेको छ ।

शिक्षकले राजनीति गर्न हुन्न । विद्यालय हाताभित्र कर्मठ बन्नुपर्छ भन्ने मान्यताका साथ यो योजना सार्वजनिक गरिएको दाबी गरिए पनि पुर्वशिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । शिक्षकलाई खुशी बनाउने गरि काम गर्नुपर्ने भन्दै उनीहरुलाई राजनीतिबाहिर ल्याउँँछु भन्दै चालिने कदमले शैक्षिक वातावरण बन्न नसक्ने टिप्पणी गरेका छन् । उनले शिक्षकको डीएनए परीक्षण गर्न नहुने भनी मन्त्री श्रेष्ठप्रति ब्यङग्य गरेकी छन् ।  

कतिपय सांसदहरुले भने शिक्षामन्त्रीको कामको प्रशंसा गरेका छन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षामन्त्रीलाई काम गर्न दिनुपर्ने धारणा राखे । 

प्रतिनिधिसभामा शिक्षकलाई राजनीतिमा सहभागी हुन दिने नदिने विषयमा केन्द्रिकृत बहस नभएपनि शिक्षकलाई राजनीतिक दलमा संलग्न हुन नदिने निर्णयको स्वागत भने गरिएको देखिन्छ । 

शिक्षक र राजनीतिको साइनो

शिक्षक समाजमा अक्षर सिकाउने र मानिसलाई ज्ञान दिने अर्थमा लिइन्छ । शिक्षक समाजको अगुवा पनि हो । शिक्षकले समाजलाई सहजै प्रभाव पार्न सक्ने अवस्था पनि हुन्छ । पछिल्लो समय शिक्षकप्रतिको आदरभावका उतारचढाव देखिए पनि कुनैबेला शिक्षकले नै लोकतन्त्रका लागि संघर्ष गरेको देखिन्छ । 

राजनीतिमा आउनुपूर्व मानिस शिक्षण पेशा नै अंगालिरहेको र उसले आफूले जानेको विषय र समाजमा देखिएको विभेदको अन्त्य गर्ने भन्दै राजनीतिमा होमिएका उदाहरण थुप्रै छन् । अहिले शीर्ष नेताहरु प्रायः शिक्षण पेशामा संलग्न रहेको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड आफै पनि शिक्षण पेशाबाट राजनीतिमा आएका हुन्। अधिकांश वामपन्थी नेताहरुले शिक्षण गर्ने र शिक्षणसँगै राजनीति पनि गर्ने गरेका उदाहरण थुप्रै छन् । 

शिक्षक समाजमा प्रतिष्ठित हुने र बालबालिकाको अभिभावकसम्म सहजै पुग्न सक्ने हुनाले पनि शिक्षकहरुले सहज राजनीति गरेको देखिन्छ । तर, शिक्षकले राजनीति गर्ने र विद्यालयभन्दा बढि समय अन्यत्रै समय व्यतित गर्ने विषयले भने शैक्षिक गुणस्तर कायम गर्न नसकिने भन्दै पछिल्लो समय शिक्षकले राजनीति गर्न हुन्न भन्ने आवाज बलियो बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update