काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमाले पार्टी जोगाउन संसद विघटन गर्नुपरेको बताएपछि यसले सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढाएको छ । सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षले नेकपाकालीन प्रधानमन्त्री भएको बेला पार्टीभित्रैबाट आफूविरुद्ध घेराबन्दी भएकोले एमाले जोगाउनका लागि संसद नै विघटन गरेको अभिव्यक्ति शनिबार दिएका थिए । उनले तत्कालीन एमालेकै माधव नेपाल समूह र एकीकृत पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी उक्त अभिव्यक्ति दिएका हुन् ।
पार्टी फुटाउन लागेको सूचना पाएपछि आफूले पार्टी जोगाउन २ पटक प्रतिनिधिसभा विघटन गर्नुपरेको तर पनि पार्टीभित्रैका मान्छेले उक्त कुरा नबुझेको ओलीले बताएका थिए । तत्कालीन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले पार्टी सखाप भइसक्ने उनको जिकिर थियो । त्यसबेला आफू नेतृत्वको सरकार ढाल्न र पार्टीभित्रैबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएको उनको आरोप थियो । त्यसबेला संसदमा सबैभन्दा ठूलो पार्टी नै एमाले भएको र अर्को पार्टी (माओवादी)लाई समेत मिलाएर बहुमत पुर्याएको बताउँदै ओलीले बाहिरी शक्तिले भन्दा पनि पार्टीभित्रैका केहीले हुँडालो मच्चाएर एमाले सिध्याउन खोजेको बताएका थिए । दक्षिणपन्थी शक्तिहरुको पाउमा सरकार बुझाएजसरी नै आज एमाले पनि अरुलाई बुझाइसकेको अवस्थामा हुने ओलीको भनाइ थियो ।
ओलीको यो अभिव्यक्तिले सत्तारुढ अन्य दलका नेतालाई फेरि चिढ्याएको छ । उनको अभिव्यक्तिले एमालेसँग पार्टी एकताको तयारी गरिरहेको भनिएको एकीकृत नेकपा समाजवादी पनि बिच्किएको छ । उता प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका सांसदले पनि ओलीले यस्ता कुरा उप्काउन नहुने बताइरहेका छन् । माओवादीका राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनी दिएको अभिव्यक्तिप्रति सदनमै आपत्ति जनाए । सोमबार उनले नयाँ सत्ता समिकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु नै उपयुक्त हुने धारणा राखे । आफू समेत बस्ने साझा घर भत्काएजसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको गर्वसाथ स्वीकार्नु भनेको फेरि पनि गठबन्धनमा समस्या निम्त्याउनु रहेको उनको आशय थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले पहिलोपटक संसद विघटन गर्दा सर्वोच्च अदालतले ब्युँताइदिएको थियो । तर अदालतलाई नै चुनौती दिँदै ओलीले फेरि संसद विघटन गरेपछि तत्कालीन सबैभन्दा ठूलो दल नेकपा विभाजित भयो । सर्वोच्चले नै माओवादी र एमालेको एकतापछि बनेको नेकपा अवैध रहेको फैसला सुनाएपछि ओली–प्रचण्ड विधिवत दुईतिर लागे । तर एमालेभित्रै पनि माधव नेपाल समूहले प्रचण्डलाई साथ दिएपछि ओलीको संसद विघटन अवैधानिक थियो भन्ने एकमत बन्यो । अन्ततः एमालेबाट माधव समूह अलग्गिएर एकीकृत समाजवादी गठन भयो । पछिल्लो समय एमाले टुक्य्राउनु गलत थियो भन्ने महसुस गरेर पुनः एमालेसँग पार्टी एकता गर्न अध्यक्ष माधव र महासचिव घनश्याम भुसालबाहेकका नेताहरु राजी छन् । तर पनि माधवचाहिँ एमालेसँग तत्काल एकता हुन नसक्ने बताउँछन् ।
शनिवार अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको भन्दै ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेकोले बरु समाजवादी मोर्चाको पुनःगठन गरेर नै अघि बढ्ने बताए ।
यस्तै, एकीकृत समाजवादीका महासचिव भुसाल पनि एमाले अध्यक्ष ओलीप्रति सकारात्मक छैनन् । उनले ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै पार्टी जोगाउन संसद नै विघटन गर्ने र प्रधानमन्त्री पद जोगाउन पार्टी विभाजन गर्ने हर्कत ओलीले गरेको बताए । आइतबार भुसालले कुनै पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गरिनु असामान्य घटना रहेको बताए । पार्टी जोगाउन संसद, प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याएर ओलीले त्यसैमा गर्व गरिरहेको भुसालको भनाइ छ ।