काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएका छन् । एक्लैले बहुमत ल्याउन नसकेको भारतीय जनता पार्टी र प्रधानमन्त्रीको पद सम्हाल्न पुगेका मोदीको शपथमा प्रचण्डको सहभागितालाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् ।
भारतमा पुगेका प्रधानमन्त्ररी प्रचण्डलाई कर्मचारी स्तरबाट स्वागत भएको छ । विमानस्थलमा कर्मचारीले स्वागत गरेको र प्रचण्डको स्वागतमा सांस्कृतिक नाच समेत प्रदर्शन गरिएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको रुपमा लिएको सपथमा सहभागी भएका प्रचण्डले नेपाल–भारतबीचको सम्बन्धमा बहुआयामिक सन्तुलन कायम गराउन सक्ने गरि काम गर्नुपर्ने आवाज पनि उठेको छ ।
कानूनमन्त्रीसहितको टोली लिएर भारतको दुई दिने भ्रमणमा रहेका प्रचण्डसामू दुई देशबीचको उतारचढावपूर्ण सम्बन्धलाई नयाँ आयाम दिने गरि भ्रमणलाई सफल पार्ने ठूलो चुनौति छ ।
प्रचण्डको भारत भ्रमणमा छोरी गंगा दाहाल पनि सहभागि छन् । उनी प्रधानमन्त्रीको स्वागतको क्रममा छेउमा उभिएकी थिइन् । योभन्दा पहिले मुर्रा राँगा नेपाल ल्याउने सम्झौता हुँदा पनि गंगाको सहभागितालाई लिएर तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक विरोध नै गरेको थियो ।
एमालेले गंगालाई अस्वभाविक स्पेस दिइएको भन्दै विरोध गरेको थियो भने कूटनीतिक मर्यादा समेत मिचेको आरोप लगाएको थियो । तर, अहिले पनि गंगा दाहाल वुवा प्रचण्डसँगै स्वागतमा उभिएकोदेखि अन्य दृश्यलाई कसरी लिइएला ? त्यो चासोको विषय छ ।
अर्थपूर्ण भेट
प्रधानमन्त्री मोदीको सपथमा सहभागी हुनेमा प्रचण्ड तेश्रो प्रधानमन्त्री हुन् । यसअघि शुशिल कोइराला र केपी ओलीले सहभागिता जनाएको देखिन्छ भने प्रचण्ड तेश्रो पटक सहभागी बनेका हुन् ।
प्रचण्डले दिल्लीमा प्रधानमन्त्री मोदीसँग गरिने संक्षिप्त भेटलाई लिएर नेपालमा धेरै आशा पलाएको छ । भेटमा प्रधानन्त्री प्रचण्डले नेपालकोतर्फबाट निर्धक्क कुरा राख्ने र दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि पहल लिनुपर्ने आवाज नेपालमा बलियो बनेको छ ।
सत्ताको समानता
मुख्यमन्त्रीदेखि गएको प्रधानमन्त्रीकालसम्म शानदार बहुमतको सरकार चलाएका मोदीलाई अहिले संकट देखिन्छ । भाजपा एक्लैको बहुमत नभएकाले मोदीको सत्ता जतिबेला पनि संकटमा पर्न सक्ने आशंका गरिएको छ ।
यता, प्रधानमन्त्री प्रचण्ड पनि असाध्यै सानो संसदीय सिटसहित प्रधानमन्त्री बनेर सत्ता नेतृत्व गरिरहेका छन् । त्रिशंकु संसदको नेतृत्व गरिरहेका प्रचण्डलाई जस्तो संकट मोदीलाई पनि देखिन्छ ।
मोदीको सत्ता सहयात्री दलका नेताहरुमा नितिशकुमार जस्ता नेताहरु हुनु र समिकरण अदलीबदली क्षणभरमै गर्ने प्रचण्डकै जस्तो प्रवृत्ति भएकाले दुई नेताको सत्तायात्रामा केहि समानता देखिन्छ । यद्यपी भारतीय मतदाता र शासन सत्तामा मोदी चतुर भएकाले अहिले नै यसै भन्न सकिने स्थिति भने छैन् ।