काठमाडौं । आम निर्वाचन सम्पन्न भएपछि २०७९ पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमनत्री नियुक्त भए ।
त्यसको २ सातापछि संसदको पहिलो बैठक बोलाइएको थियो । तर संसदको पहिलो बैठककै दिन प्रधानमन्त्री बनाउन सहयोग गरेको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो संसद विघटन सही भएको बताइदिए ।
जबकी ओलीले गरेको संसद विघटनका विरुद्ध माओवादी लगायतका दलहरुले वृहत आन्दोलन गरेका थिए । र, नयाँ सहकार्यपछि संसद विघटनको विषय नउठाउने प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आपसी आपसी समझदारी भएको थियो ।
लगातारको आन्दोलन र अदालती प्रक्रियामा गएर दुई–दुई पटकको संसद विघटनलाई पुनर्स्थापना गर्नमा मुख्य भूमिका खेलेका प्रचण्डसँग ओलीको तत्कालीन समयमा पनि तालमेल मिलेन ।
यही विषयलाई मुख्य मुद्धा बनाएर प्रधानमन्त्री प्रचण्डले एमालेको साथ छोडेर काँग्रेससँगै समीकरण कायम गर्न पुगेका थिए ।
आफू नैतिक संकटमा परेको बताउँदै काँग्रेससँगकै गठबन्धनमा फर्किएका प्रचण्डले ओलीको उक्त बोलीले संविधानमाथि थप संकट पार्ने र संसदको स्थायित्वमै प्रश्न उठाएको उल्लेख गरेका थिए ।
मुख्यतः आम निर्वाचनपछि नयाँ समीकरण बन्दा संसद विघटनको विषयले नै ओली र प्रचण्डको सम्बन्धमा फाटो आएको थियो । त्यसपछि काँग्रेसँगको समीकरणमा प्रधानमन्त्री प्रचण्डले सत्ता चलाइरहे । यद्यपि पछि आएर काँग्रेससँगको खटपटले पुनः प्रचण्डलाई एमालेसँगकै कित्तामा पुग्न बाध्य पार्यो ।
यो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि एकाएक प्रचण्डसँग नरम बनेका थिए । त्यसपछिका दिनहरुमा संसद विघटनको प्रशंग पनि खासै आएन । सत्तारुढ दलका नेताहरुले वर्तमान समीकरण संसदको पूरै कार्यकालसम्म रहने दावी गर्दै आएका छन् ।
तर पछिल्लो केही दिन यता भने एमाले अध्यक्ष ओलीले संसद विघटनको प्रशंग कोट्याउन थालेका छन् भने सत्तारुढ दलका नेताहरुमाथि नै जाइ लाग्न थालेका छन् ।
ओलीको यो व्यवहारले सत्ता फेरि संकटतर्फ जानसक्ने आंकलन गर्न थालिएको छ । अध्यक्ष ओलीले पछिल्लो केही दिनयता रास्वपा सभापति देखि अन्य मन्त्रीहरुमाथि अस्वभाविक रुपमा खनिन थालेका छन् ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रविलाई चमेरोको संज्ञा दिनेदेखि सरकारका अन्य मन्त्रीहरुप्रति हेपाहापूर्ण टिप्पणी गरिरहेका छन् ।
शनिबार मात्रै एमालेको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न पुगेका अध्यक्ष ओलीले संसद विघटन सही भएको दावी गर्न खोजे ।
संसद विघटनको यथार्थताबारे अझै केही नेताहरु अबुझ बन्न खोजेको टिप्पणी गरेका ओलीले तत्कालीन कदम संवैधानिक नै रहेको जिकिर गरे ।
एमालेकै सहयोगमा सत्ताको नेतृत्व गरिहरका प्रचण्डले भने संसद विघटनाको विषयबारे नबोल्ने समझारी भएको बताउँदै आएका छन् । यद्यपि ओलीले पुनः यो विषयलाई उठाउन थालेका थालेका छन् ।
ओलीले संसद विघटनलाई सदर भन्न थालेपछि प्रधानमन्त्री प्रचण्डले यो विषयलाई कुन रुपमा लिन्छन् । यो पर्खाइको विषय बनेको छ । तर सत्ता सहयात्री सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष ओलीले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डदेखि अन्य सहयात्री दलहरुलाई चिँढ्याउने काम गरिरहेका छन् ।
केही दिन अघि मात्रै पनि ओलीले बजेटप्रति असन्तुष्टि जनाउँदै माओवादी र अर्थमन्त्रीको आलोचना गरेका थिए । ओलीको यही व्यवहार र कार्यशैलीले पुनः सत्ता गठबन्धनमा दरारता आउनसक्ने खतरा पैदा भएको छ ।