काठमाडौँ । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा आज रात्रिभोजको आयोजना गरेका छन् ।
राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नुभएको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले जानकारी दिए।
रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित छन्।
रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ । रात्रिभोजमा आजै पद तथा गोपनीयताको सपथ लिएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरु, भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।
प्रधानमन्त्री दाहालको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासाले सोमबार विहान चियापानको आयोजना गर्ने कार्यक्रम छ । साथै भोलि विहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्नुहुने जनाइएको छ ।
प्रधानमन्त्री दाहाल उक्त सपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् ।
प्रधानमन्त्री दाहालले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।