News 24 Television
रविपछि बालेनका लागि भिड्दै एमाले–काँग्रेस, सरकारले गाईजात्रा देखाएको आरोप

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पक्ष र विपक्षमा लाग्दै संसदका प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच चर्काचर्की परेको छ । बालेनले न्युरोडमा फुटपाथ विस्तारको काम थालेपछि संघ सरकारको सडक विभागले रोकिदियो । यो विवादमा मेयर बालेनले एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिए । एमालेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेको कारण बालेनको काम उल्टिएको ठहर गर्दै उनको निशानामा एमाले परेको देखिन्छ । यसैलाई मौका छोप्दै काँग्रेसले बालेनको कदम ठीक रहेको भन्दै सरकार र एमालेको आलोचना गरेको छ । बालेनसँग न्युरोडमा सरकारले गाईजात्रा देखाएको काँग्रेस सांसदको आरोप छ । 

यसअघि रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेको मामिलामा पनि काँग्रेस–एमालेबीच संसदमै भिडन्त भएको थियो । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग राख्दै काँग्रेसले महिनौँ संसद अवरोध गर्दै आयो भने एमालेले त्यसको प्रतिवाद गरेको थियो । अहिले बालेनको विषयमा संसदमै एमाले–काँग्रेस सांसदहरुबीच चर्काचर्की परेको हो ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार संसदमा बोल्दै न्युरोडमा फुटपाथ विस्तार गर्ने बालेनको निर्णय ठीक रहेको बताए । उनले ओलीसँग भिड्नुपरेमा एमालेकै उपमेयर अथवा सम्बन्धित तहका पार्टीकै जनप्रतिनिधिलाई अगाडि सार्न बालेनलाई सुझाव समेत दिए । बालेनलाई शहरी विकासका क्षेत्रमा निर्बाध काम गर्न दिइनुपर्ने शर्माको भनाइ थियो ।

बिहीबार नै काँग्रेस सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय कायम गर्न माग गरे । उनले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध संघर्षमा नभई समन्वय र सहअस्तित्वमा आधारित भएको बताए । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले स्थानीय विवाद झिकेर ‘गाईजात्रा’ देखाउनु राम्रो नभएको बताए । न्युरोडमा देखिएको सडक भत्काउने र बनाउने गाईजात्राले सरकारमाथि गम्भिर प्रश्न उठेको केसीको भनाइ छ । सरकारी पक्षले अहंकार, हुलहुज्जत र झगडिया मानसिकता बोक्न नहुने समेत उनले बताए । 

उता, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मेयर बालेनको शैलीलाई काँग्रेसले समर्थन गर्नु भनेको काँग्रेसका आदर्श नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताए । बिहीवार संसद भवनबाहिर बोल्दै उनले काठमाडौं महानगरका प्रमुखबाट भइरहेको काम स्वाभाविक नभएको बताए । सामाजिक सञ्जालमा बालेनले विभिन्न स्ट्याटस लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको भन्दै बर्तौलाले देश र लोकतन्त्रका लागि लडेका नेताहरुको बारेमा बालेनको टिप्पणी तल्लो स्तरको रहेको बताए । काँग्रेस यस्तै अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न लागिपरेको उनको भनाइ छ ।

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुका कार्यकर्तालाई प्राकृतिक विपद्को समयमा स्वयंसेवकको रुपमा खटाउने भएका छन् । बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै लामिछानेले राजनीतिक दलहरुसँग विपद्मा स्वयंसेवा गर्ने कार्यकर्ताहरुको विवरण मागेका थिए । उनले मनसुनजन्य विपद्मा स्वयंसेवक आवश्यक पर्ने भएकाले दलहरुले आफ्नो तर्फबाट कति स्वयंसेवक दिन सक्छन्, सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए । दलहरुको संगठन सबैतिर हुने भएकाले सो संगठनलाई विपद् व्यवस्थापनमा खटाउँदा प्रभावकारी हुने गृहमन्त्रीको भनाइ छ ।

यसअघि मापसे गरेर ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई सडक ट्राफिक स्वयंसेवकका रुपमा खटाउने निर्णय गृहमन्त्री छामिछानेले गरेका थिए । तर उनको उक्त निर्णय विवादित भयो । संसदमा काँग्रेसले कानुन नै नबनाई कसैलाई ट्राफिक स्वयंसेवक खटाउन नहुने भन्दै विरोध जनाएको थियो । गृहमन्त्रीको उक्त निर्णयविरुद्ध केही युवाहरुले अघिल्लो शुक्रबार सर्वाेच्च अदालतमा रिट नै दिए, जसको सुनुवाई गर्दै आइतबार सर्वोच्चले ट्राफिक स्वयंसेवक खटाउने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश दिइसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update