News 24 Television
माधवलाई नेता नमान्ने मुडमा झलनाथ, नेतृत्वका लागि गर्दैछन् दौडधुप

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर बनेको दल नेकपा एकीकृत समाजवादीले यही असारमा राष्ट्रिय महाधिवेशन गर्दैछ । 

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरु नयाँ नेतृत्वका लागि आन्तरिक दौडधुप गरिरहेका छन् ।  पार्टीको निर्णय अनुसार महाधिवेशन असार १६ गतेदेखि २० सम्म काठमाडौँमा हुनेछ । नेकपा एस फरक परिस्थितिमा स्थापनाका भएको दावी गर्दै आएका नेताहरुले महाधिवशेनबाट नयाँ नेतृत्व चयन गर्ने कोशिस गरिरहेका छन् ।

‘दक्षिणथन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ’ भन्ने मूल नाराका साथ महाधिवेशन गर्न अघि बढेको नेकपा एसले नेपालका कम्युनिष्ट तथा समाजवादी पक्षधरकै भविष्य निर्धारण गर्ने जिकिर गरिरहेको छ । 

हाल समाज र मुलुकमा व्याप्त समस्याको हल गर्नेगरीको राजनीति स्थापित गर्ने बताउने गरेको नेकपा एसमा नेतृत्व चयनका विषयमा भने निर्विकल्पताको वातावराण देखिँदैन ।

पार्टी स्थापना भएको ३ वर्षमै हुन लागेको महाधिवेशनमा नेतृत्वमा हानथाप भइरहेको अवस्था छ । मुख्यतः वर्तमान अध्यक्ष माधवकुमार नेपाल यो महाधिवेशनबाट आफ्नो पद नविकरण गर्न चाहन्छन् । 

तर यो पटक उनका लागि खासै प्रतिकुल परिस्थिति छैन । उनलाई पार्टीकै सम्मानीत नेता झलनाथ खनालले चुनौति दिने लगभग पक्का छ । यद्यपि पार्टीका कतिपय नेताहरुले भने सहमतिमै नेतृत्व चयन हुने दावी गरिरहेका छन् । 

नेकपा एसले यसअघि ७० वर्ष माथिका व्यक्तिलाई कार्यकारी पदमा रहन नमिल्ने गरि उमेर हदबन्दी लगाएको थियो । तर आउँदो महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरुलाई नै नेतृत्व दिलाउने अवसर प्रदान गर्न भन्दै उमेर हदबन्दी हटाइएको छ । 

जसले पुरानै नेताहरुलाई नेतृत्वका लागि हौसाएको हो । यही प्रावधानपछि झलनाथ पनि नेतृत्वका लागि अघि बढेका हुन् । जसले वर्तमान अध्यक्ष माधवलाई संकटमा पार्ने खतरा उत्पन्न भएको हो । 

पार्टीमा दुई धार 

एमालेसँग विद्रोह गरेर पार्टी विभाजन गर्दा माधवलाई साथ दिएपनि नेतृत्वप्रति झलनाथ खासै सन्तुष्ट छैनन् । माधव र झलनाथबीच पार्टीको भावी रणनीतिबारे बेलाबखत असमान धारणा सार्वजनिक हुने गरेको छ । 

वर्तमान सत्ता गठबन्धन र पार्टीको भविष्यबारे पनि उनीहरुमा एकमता छैन ।  त्यस्तै जनताको बहुदलिय जनवाद (जबज) तथा समाजवादी कार्यक्रमका विषयमा माधव र झलनाथबीच मतभेद छ । 

जबजको सान्दर्भिकता सकिएको झलनाथको बुझाइ छ भने माधव नेपालको बुझाइमा जबज अझै सान्दर्भिक छ । त्यस्तै  झलनाथ वर्तमान सत्ता गठबन्धनलाई नै बलियो बनाउँदै कम्युनिष्ट एकताको पक्षमा छन् । 

तर माधव भने वर्तमान सत्ता समीकरणमा निरिह बनेर बस्न नसकिने निश्कर्षमा छन् । यही कारण बेलाबखत पार्टी नै विभाजन हुने समेत खतरा पैदा हुने गरेको छ । 

जुन अवस्थालाई अध्यक्ष माधव नेपालले पनि प्रष्ट रुपमा संकेत गर्दै आइरहेका छन् । यसअर्थमा झलनाथले पनि यस महाधिवेशनलाई अवसरको रुपमा लिएर पार्टी नेतृत्व हातमा लिने कोशिस गर्ने पक्का छ । यसरी माधव र झलनाथबीच पार्टी नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने पूर्वानुमान गर्न कठिन छैन । 

घनश्यामलाई पर्नसक्छ चिठ्ठा

वर्तमान महासचिव घनश्याम भुसाललाई पनि पार्टी नेतृत्व दिनुपर्ने माग नेकपा एसभित्र उठिरहेको छ । खासगरी माधव र झलनाथको आ–आफ्नै अडान रहिरहे तेस्रो विकल्पमा घनश्यामलाई अध्यक्ष बनाउन सकिने विषयमा पनि छलफल भइरहेको हो । 

दुई नेताहरुबीचको टक्करलाई नियाली रहेका घनश्याम पनि भित्रि रुपमा अध्यक्षको तयारी गरिरहेका छन् । यो अवस्थामा कार्यकर्तास्तरबाट पनि घनश्यामलाई साथ रहने दावी गरिएको छ । पार्टी नेतृत्वमा नयाँ पुस्ताको जबरजस्त खोजी भइरहेका बेला दुई नेताबीचको हानथापले घनश्यामलाई अध्यक्ष पदको लाभ नमिल्ला भन्ने अवस्था छैन । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update