काठमाडौं । गाँजाको व्यवसायीक खेति केहि समय पहिलेदेखि चल्दै आएको बहसको विषय हो । कानून निर्माण गरेर गाँजा खेतिलाई प्रबर्द्धन गर्नुपर्छ भन्ने मान्यताकाबीच सरकारले नीति तथा कार्यक्रममै यो विषयमा बोल्यो । त्यसपछि संसदको कृषी समितिले यसबारे चासो देखाउदै राखेको बैठकमा गाँजा खेतिबारे नियमावली छिट्टै बन्ने प्रतिबद्धता आएको छ । यस्तोमा गाँजा खेतिको उपादेयता कस्तो छ त ?
गाँजा नेपालमा अवैध छ । गाँजा खेति, सेवन, ओसारपसार र प्रयोग अवैध भएपनि धेरै ठाउँमा यसको अवैध खेति भइरहेको छ ।
प्रहरीले ठूलो मात्रामा गाँजाका बोट फाँड्ने काम गरिरहेको देखिन्छ भने यसलाई कानूनी ढंगले नै खेति गर्न दिने गरि कानून निर्माण गरेर काम गर्दा नेपाललाई ठूलो लाभ हुने बहस पनि उत्तिकै छ ।
नेपालमा गाँजा अवैध भएपछि औषधिका लागि भन्दै नेपालले विदेशबाट गाँजा आयात हुने गरेको छ । तर, नेपालमै उत्पादनको ठूलो सम्भावना रहेको विषयमा सरकारले यसको खेति कानूनी अवरोध खुलाएर गर्ने भनेपछि किसानहरु समेत आकर्षित बन्न थालेका छन् ।
यस्तोमा संसदको कृषी समितिमा पुगेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आगामी एक महिनाभित्रै गाँजा खेतिबारे नियमावली बनाएर ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले पनि गाँजाको व्यवसायिक खेतिबारे अध्ययन गरेर खुला गर्न नियमावली ल्याउन निर्देशन दिइन् ।
उसोतः समितिको बैठकमा उपस्थित भएका अर्थमन्त्री वर्षमान पुनले पनि बजेट प्रस्तुत गर्दा प्रयोग भएको झोला पनि गाँजाबाट नै बनेको खुलासा गरेका छन् ।
मन्त्री पुनले गाँजाको दाना र रेशा गाउँगाउँमा उत्पादन भइरहेको भन्दै यसलाई खुला गर्नुपर्ने धारणा राखेका छन् ।
गाँजाबारे बहस
गाँजाको प्रयोगबाट मानिस दुव्र्यसनमा फस्ने डर छ । गाँजाको प्रयोगले मानिसलाई कुलतमा फसाउने डरका साथै गाँजा उत्पादनलाई नेपालले अवैध मानेको छ ।
कानूनले नै वर्जित गरेको गाँजा खेतिले जोखिम निम्त्याउने खतरा पनि उत्तिकै देखिन्छ । तर, विश्वका केहि मुलुकले भने गाँजाको व्यवसायीक खेति गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
छिमेकी मुलुक भारतले पनि यसको खेतिलाई लिगलाइज गरिसकेको बताइन्छ । तर, नेपालमा पनि औषधिय प्रयोगका लागि गाँजा विदेशबाट आयात गरिन्छ तर यस्तो तथ्यलाई हतपति सरकारी निकाय भने स्वीकार गर्न हिच्किचाउछन् ।
यस्तोमा यसको व्यवसायीक उत्पादनमा पछिल्लो समय बहस भइरहेको छ । सरकारले यहि विषयलाई सम्वोधन गर्ने गरि कानून निर्माण गर्ने तयारी थालेको छ।
गाँजा उत्पादन कसरी रोकियो ?
संयुक्त राष्ट्रसङ्घको सम्मेलनले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि ’सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१’ मा नेपाल सहभागी भएपछि नेपालले सन १९७६ मा लागुपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित भएको हो । तर, नेपालका विभिन्न जिल्लामा यसको अवैध खेति भने भइरहेको छ ।
गाँजाको उपयोगिता
गाँजाको प्रयोग औषधि बनाउन प्रयोग हुने बताइन्छ । नेपालमा गाँजा प्रतिबन्ध हुनुअघि सिंहदरबारमा रहेको वैद्यखानाले समेत गाँजाबाट औषधि उत्पादन गरेको देखिन्छ ।
गाँजाबाट बन्ने औषधिको प्रयोग पाचन तथा पेटसम्बन्धी रोग, स्नायु तथा टाउको दुख्ने रोग, मानसिक रोग तथा डिप्रेशन र दुखाइ कम गर्ने र क्यान्सर जस्ता रोगको उपचारमा प्रयोग हुने बताइन्छ ।
यस्तोमा फेरि विश्वका धेरै मुलुकले कानूनी प्रावधान बनाएरै उत्पादन थालेपछि नेपालमा पनि कानून निर्माणको बहस चलिरहेको छ ।